देशकै सर्वोत्कृष्ट नगर भएकोमा बुटवलबासीलाई बधाई

0
Shares

बुटवल ।

बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट भएकोमा बुटवलबासीलाई बधाई तथा धन्यवाद दिएको छ ।

आर्थिक वर्ष २०७९-८० मा देशभरका नगरपालिकामध्ये सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएकोमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवलबासीको साथ, सहयोग र समर्थनमा बुटवल उत्कृष्ट हुन सम्भव भएको भन्दै धन्यवाद दिनु भएको हो ।

नेपाल नगरपालिका संघले बुटवललाई स्थानीय आर्थिक विकासमा ९५ प्रतिशत अंक प्राप्त गर्दै सर्वोत्कृष्ट भएकोमा मंगलबार काठमाडौंमा पुरस्कृत गरेको थियो । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी नगर प्रमुख पाण्डेयले नेपाल नगरपालिका संघले प्रदान गरेको अवार्ड बुटवलबासीमा समर्पित गर्ने र आगामी दिनमा अझ बढी प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको भन्दै प्रमुख पाण्डेयले नगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दललगायत सबै सरोकारवालालाई धन्यवाद दिनु भयो । उहांले बुटवललाई सबै क्षेत्रमा अब्बल बनाउनका लागि प्रयत्नरत रहेको भन्दै बुटवलबासीको चाहना र आवश्यकतालाई सधै प्राथमिकता दिएको बताउनु भयो ।

‘बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएका छौं। त्यसका लागि केही योजना अघि सारेका छौं, जुन कार्यान्वयनका क्रममा छन्’–उहाँले भन्नु भयोे–‘पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ, यसलाई थप प्रभावकारी बनाउदै काम गर्नेछौं ।’

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो । तीमध्ये स्थानीय आर्थिक विकासतर्फ बुटवलले देशका सबै स्थानीय तहलाई उछिनेको हो ।