गृह प्रशासनको मनोबल र साख उच्च बनाउन अहोरात्र खट्ने प्रतिवद्धता

माफियावाद र विचौलियावादको अन्त गरिने


काठमाडौं । 

नवनियुक्त गृह सचिव एकनारायण अर्यालले आज गृह मन्त्रालयमा पुगेर पदबहाली गरेका छन् । पदबहाली गर्नुअघि गृह मन्त्रालयमा प्रहरी प्रमुखहरु, मन्त्रालयका महाशाखा प्रमुखहरु, काठमाडौँ, भक्तपुर र ललितपुर लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीहरुले सचिव अर्यालको भव्य स्वागत गरेका थिए ।

पदबहाली गरेलगत्तै मन्त्रालयद्धारा आयोजित स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त गृह सचिव अर्यालले गृह प्रशासनको गुम्दै गएको मनोबल र साख उच्च बनाउन आफू दत्तचित्त भएर लाग्ने बताउनुभयो । ‘अब तपाईँहरूले कुनै मानेमा पनि ‘डिमरलाइज’ हुन पर्दैन, तपाईँहरूको मनोबल उकास्ने गरी म काममा समर्पित हुनेछु र गृह प्रशासनको साख उच्चो बनाउनेछु । ’ सचिव अर्यालले सुरक्षा निकायका प्रमुख सहित गृहका उच्च अधिकारी लगायत सबै कर्मचारीलाई हौस्याउँदै भने ।

गृह सचिव अर्यालले आफू टिमवर्कमा काम गर्ने र सबैको सहयोग आवश्यक पर्ने बताए । गृह प्रशासनमा रहेका र विभिन्न जिम्मेवारीमा रहेकाहरूले एकआपासमा आवश्यकता अनुसार व्यवस्थित किसिमले समन्वय गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता सचिव अर्यालले औँल्याए । सचिव अर्यालले अन्य मन्त्रालयको क्षेत्राधिकारमा नपर्ने सबै विषय गृह मन्त्रालयले हेर्नुपर्ने भएकाले सोही अनुसार गृह प्रशासनलाई चुस्त दुरुस्त बनाएर अगाडि बढ्नुपर्ने चुनौती रहेको बताए । ‘हामीले अन्य मन्त्रालय र उसको कामलाई समेत गाइड गर्नुपर्ने हुन्छ, त्यसैले गृह मन्त्रालयको जिम्मेवारी र संवेदनशीलतालाई हेरेर सबै जना सोही अनुसार अनुशासित भएर टिमवर्कमा खट्नुपर्छ, र परिणाम निकाल्न सक्नुपर्छ । ’गृह सचिव अर्यालले भने । उनले गृह प्रशासन व्यवस्थित चेन अफ कमान्डमा चल्नुपर्ने र सबै जना एउटै भ्यालुमा हिँड्नुपर्ने आवश्यकता औँल्याए । ‘अब यहाँ कसैले कसैको कुरा काट्ने छुट छैन, गृह प्रशासनमा रहेका सबै जना सेवा प्रवाह प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम गराउने विषयमा एकजुट भएर अगाडि बढ्नुपर्छ । ’गृह सचिव अर्यालले सबै कर्मचारी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउदै भने । गृह सचिव अर्यालले केहि समय यता देखि गृह प्रशासन कमजोर हुँदै आएकाले अब आफुले गृहप्रशासनलाई कुनै हालतमा पनि कमजोर हुन नदिने र त्यसका लागि सबै पक्षको सहयोग र साथ आवश्यक पर्ने बताए । ‘सबैले स्वीकार्नुपर्छ, केहि समय यता गृह प्रशासन कमजोर भएकै हो, बद्नाम भएकै हो, अब त्यस्तो अवस्था आउन दिइने छैन् । ’गृह सचिव अर्यालको प्रतिवद्धता थियो ।

यस्ता छन् गृह सचिवका १२ प्रतिबद्धता

–अब गृह प्रशासनको साख उच्चो बनाइने
–पूर्ण रूपमा टिमवर्कमा काम गरेर परिणाम निकालिने
–गृह प्रशासनलाई एकताबद्ध बनाइने
–गृह प्रशासनलाई पूर्ण रूपमा चेनअफ कमान्डमा राखिने
–चेनअफ कमान्ड विपरीत हिँड्नेलाई कारबाही गरिने
–सरुवा , बढुवा र पदस्थापनमा सोर्सफोर्स लगाउनेहरू कारबाहीमा पर्ने
–गृह प्रशासनमा व्याप्त बिचौलियावाद र माफियावादको अन्त गरिने
–राजश्व वृद्धिमा पनि सशक्त योगदान गरिने
–समस्या समाधान गर्न तत्काल एक्सन प्लान बनाइने
–सिडिओ सरुवाको निश्चित मापदण्ड बनाइने
–कार्यसम्पादनमा उत्कृष्टता ल्याउने
–राजनीतिक दबाब अस्वीकार्य

अर्यालले एयरपोर्टमा प्रहरी र अध्यागमन कर्मचारीबिच हात हालाहालको अवस्था आउनु विडम्वनापुर्ण भएको र एउटै परिवारका सदस्यहरु बिच त्यसरी झगडा गर्दा गृह प्रशासन बदनाम हुन पुगेकाले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन गृह प्रशासनमा रहेका सबै पक्ष सचेत र सतर्क हुनुपर्ने आवश्यकता औँल्याए । गृह सचिव अर्यालले सबै जनाले कानुनले तोकेको जिम्मेवारीलाई बफादारीताका साथ पालना गरेर अघि बढे त्यस्तो अवस्था नआउने बताए । ‘प्रहरीले र कर्मचारी दुवै पक्षले आ आफ्नो सीमा र जिम्मेवारी बुझ्न जरुरी छ, एकले अर्कालाई सम्मान गरेर अघि बढ्नुपर्छ, कसैले कसैमाथि प्रतिशोध साँध्न हुँदैन, सबै जना चेन अफ कमण्डमा हिँड्नुपर्छ, चेनअफ कमान्ड विपरीत हिँड्नेलाई कारबाहीको दायरामा ल्याइनेछ । ’सचिव अर्यालले भने ।

गृह सचिव अर्यालले प्रहरी प्रशासनमा हुने सबै खाले सरुवा बढुवालाई विधिसम्मत र वैज्ञानिक बनाइने बताए । ‘सरुवा बढुवा र पदस्थापनमा कुनै किसिमको चलखेल हुन नदिने बताउँदै उनले कसैले चलखेल गरेमा त्यसरी चलखेल गर्नेलाई कालोसूचीमा राखिने चेतावनी दिए । ‘सरुवा, बढुवा र पदस्थापनमा कसैले फोन गरेर दबाब दियो भने त्यसरी फोन गर्न लगाउनेहरू मेरो कारबाही सुचीमा पर्नेछ, त्यसैले त्यस्तो कष्ट कसैले नगर्नुहोला । ’गृह सचिव अर्यालले भने ।

गृह सचिव अर्यालले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सँग सल्लाह गरेरै गृहमा आएको र कुनै प्रकारको राजनीतिक हस्तक्षेप आफूलाई मान्य नहुने बताए । ‘हरेक विषयमा ऐन नियम र कानुन हेरिने छ, कानुन विपरीतका काम जस्तासुकै ठुला मान्छेको निर्देशन आए पनि गरिने छैन । त्यसैले सबै प्रकारका गलत हस्तक्षेपलाई पुर्ण रूपमा अस्वीकार गरिने छ । ’सचिव अर्यालले भने ।

गृह सचिव अर्यालले गृह प्रशासनमा कुनै पनि प्रकारको माफियावाद र बिचौलियावाद मौलाउन नदिने प्रतिबद्धता व्यक्त गरे । गृह प्रशासनको माथिल्लो तहमा रहेको माफियावाद र तल्लो तहमा रहेको बिचौलियावादको अव निर्मूल गरिने छ । ’सचिव अर्यालले प्रतिबद्धता व्यक्त गर्दै भने । गृह सचिव अर्यालले कर्मचारी र प्रहरीलाई प्रविधिमैत्री र साधन स्रोत सम्पन्न बनाउन आफू हरपल खटिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्यालले राजश्व चुहावट रोक्न प्रहरीको भूमिका सशक्त पारेर मुलुकको राजश्व वृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यस अघि लामो समय गृह मन्त्रालयको विभिन्न तहमा रहेर काम गरिसक्नु भएका अर्याल गृह मन्त्रालयकै प्रशासनिक नेतृत्वमा आउनुभएकोमा गृह मन्त्रालयका कर्मचारीहरूमा उत्साह देखिएको छ । अब गृह सचिव अर्यालको नेतृत्वमा गृह मन्त्रालयमा सुधारका विभिन्न कार्यहरूको थालनी हुने भन्दै कर्मचारीहरूमा उत्साह देखिएको हो । सरकारले राइट म्यान इन राइट प्लेसको अवधारणा आत्मसाथ गर्दै गृहका क्याडर काबिल सचिव अर्याललाई गृह मन्त्रालयमा लगेको थियो ।