उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

658
Shares

काठमाडौं ।

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गरिएको छ ।  सैनिक कमाण्ड तथा स्टाफ कलेजस्थित प्रधान सेनापति प्रभुराम शर्मा  आज बुधबार उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको शुभारम्भ गरेका हुन् ।

प्रधान सेनापति शर्माले प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताहरुको संरक्षण सहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन र आफ्ना गतिविधिहरु सञ्चालन गर्न प्रयत्‍नशील हुने र सोही अनुरुप हाम्रो राष्ट्रले पनि जनतालाई भौगोलिक, सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा पूर्ण सुरक्षित राख्न विभिन्न नीति तथा रणनीतिहरु अख्तियार गर्दै आइरहेको  बताए।

उनले बाह्य तथा आन्तरिक सुरक्षा वातावरणको अध्ययन र विश्लेषण गर्दै हाम्रो राष्ट्रिय हित र स्वार्थहरुको संरक्षणको लागि महत्त्वपूर्ण नीति तर्जुमा तथा कार्यान्वयन गर्न तालिमले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रधान सेनापतिले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाहरुले शक्ति राष्ट्रहरु बिचको ध्रुवीकरण बढ्दै जानुका साथै विश्वमा नयाँ शितयुद्धको थालनी हुन लागेको आभास हुँदै गइरहेको बताउँदै विश्वका शक्ति राष्ट्रहरु बिचको प्रत्यक्षरपरोक्ष टकराव, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रुपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रुपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न चुनौती थपिएको कुरा बताए ।

उनले नेपालको सन्दर्भमा, संवेदनशील भूराजनीति, खुल्ला सिमाना र विभिन्न शक्ति राष्ट्रहरुको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा हेरिने गरिएको बताउँदै आन्तरिक रुपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादहरुका साथै सुसुप्त अवस्थामा रहेका केहि विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिहरुले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताए ।

श्रम आप्रवासन, युवाहरुको पलायन, विभिन्न युद्धरत देशहरुका सेनामा नेपालीको संलग्नता, जलवायु परिवर्तनको बढ्दो असर, अतिवृष्टि, अनावृष्टि, सुक्दै गएका पानीका स्रोतहरु, चुरे विनाशका कारण तराईमा परिरहेको असर र त्यसबाट हाम्रो खाद्य सुरक्षामा पर्ने प्रभाव, विपद् तथा पर्यावरण सिर्जित मृत्युदर(जलवायु मृत्युदर) मा भइरहेको वृद्धिहरु हाम्रा लागि मानव सुरक्षाका दृष्टिकोणले विचार गर्नुपर्ने महत्त्वपूर्ण विषयहरु भएको बताउँदै प्रधान सेनापतिले सूचना प्रविधि एवं कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधिको विकासले सुरक्षा क्षेत्रमा नयाँ चुनौतीहरु थप्नुका साथै सैन्य रणनीति र सिध्दान्तलाई पुनस्परिभाषित गर्न खोजिरहेको हुँदा यस्ता नविनतम प्रविधिले ल्याएका समस्या र त्यसबाट जनमानसमा परिरहेको प्रभावलाई पनि सम्बोधन गर्न उत्तिकै जरुरी रहेको धारणा व्यक्त गरे  ।

उनले प्रभावकारी सुरक्षा वातावरण निर्माण गर्न परम्परागत एवं अपरम्परागत सुरक्षाका विविध पक्ष एवं आर्थिक, सामाजिक विकासको नक्शालाई राम्रोसँग बुझी सबै संयन्त्रले राष्ट्रिय रुपमा तर्जुमा गरिएका नीति नियमहरुलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै “विश्‍वको बदलिँदो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरु लगायत सम्बन्धित योजनाहरु तर्जुमा र परिमार्जन गर्न अपरिहार्य रहेकोले तालिमका सहभागीहरुलाई परम्परागत तथा अपरम्परागत सुरक्षा चुनौतीहरुको सँगसँगै पहिचान तथा विश्‍लेषण गरी राष्ट्रिय सुरक्षामा यस्ता तत्त्वहरुको महत्त्वलाई सूक्ष्म र गहन तवरबाट विश्लेषण गर्न” अनुरोध गरे  ।

 समारोहमा आफ्नो मन्तव्य राख्नु हुँदै रक्षा सचिव  किरणराज शर्माले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्त्व, आवश्यकता र उपादेयता रहेको बताए । उनले विशेषतः उच्च पदस्थ अधिकारीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बध्द महत्त्वपूर्ण विषय र बाह्य सुरक्षा वातावरणले हाम्रो राष्ट्रिय परिवेशमा उत्पन्न गर्न सक्ने असर र आयामहरु लगायतका विषयमा परिचित गराई राष्ट्रिय सुरक्षाका बारेमा समान धारणा र बुझाई विकास गर्न यो तालिम उपयोगी हुने बताए ।

सचिव शर्माले देशको सुरक्षामा खलल पुर्‍याउन सक्ने विभिन्न आन्तरिक तथा बाह्य चुनौतीहरूलाई एकीकृत रूपमा समन्वयात्मक ढङ्गबाट सामना गरिएमा मात्र समग्रमा देशको प्रतिरक्षा क्षमता, सीमा व्यवस्थापन, प्रकोप नियन्त्रण, राष्ट्रिय एकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति समेत प्रभावकारी हुने बताए ।  सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी  बाबुराम श्रेष्ठले स्वागत मन्तव्य राख्दै वि.सं.२०७२ सालबाट शुरु भएको यस तालिमबाट हालसम्म १९३ जना प्रशिक्षित भइसकेको जानकारी गराए ।

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको तालिमको नवौँ संस्करण आजबाट मिति २०८० चैत्र १६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विभिन्न मन्त्रालय, संवैधानिकनिकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्थाहरु, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट ३० जनाको सहभागिता रहेको छ ।

समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित थिए । यसै गरी, विभिन्न मन्त्रालयका पदाधिकारीहरु, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, अधिकृत र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।