रन्जितालाई रेशमले भने- मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय

7.3k
Shares

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवाद उत्कर्षमा पुगेको छ। सत्ता समीकरण परिवर्तन भएसँगै नाउपाको आन्तरिक विवाद सतहमा आएको हो।

श्रेष्ठ र चौधरीले सरकारलाई समर्थन दिन र नदिन फरक-फरक निर्णय र निर्देशन नै जारी गरेका छन् । पार्टीका संरक्षक चौधरी वर्तमान सरकारको विपक्षमा रहँदा अध्यक्ष श्रेष्ठले भने प्रधानमन्त्री दाहालले आज लिने विश्वासको मतको पक्षमा मत दिन ह्वीप जारी गरेकी छिन् भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ। प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्।

यसैबीच रेशम चौधरीले लामो स्टाट्स लेखेर श्रीमतीलाई सम्झाउन नसकेको दुखेसो पोखेका छन्।

‘घरझगडा हुँदै होइन, विषय राजनीतिक हो। मैले जानेको बुझेको यही हो। जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो’, रेशमले पत्रमा लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय! आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन। आज लोग्नेस्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नुहुन्न।’

रन्जितालाई सम्झाउन आफू कैलालीबाट काठमाडौं आए पनि सम्झाउन नसकेको उनले उल्लेख गरेका छन्। उनले कसैको पछाडि नलागी पार्टी निर्माणमा जुट्न आग्रह पनि गरेका छन् ।