सत्ता समीकरणको खेल



काठमाडौं ।

सत्ता समीकरण बललिएसँगै मुलुकको राजनीतिक कोर्स पनि परिवर्तन भएको छ। हिजोसम्म नेकपा माओवादी केन्द्रसँग सत्तामा रहेको नेपाली कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहेको छ भने प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा एमालेले सत्ताको प्रमुख घटकको रुपमा आफूलाई स्थापित गराउँदै लगेको छ।

हिजोसम्म नेकपा माओवादी केन्द्रलाई प्रमुख दुश्मन मान्ने एमाले आज सत्ताको सहयात्री भएको छ भने हिजो सत्ताको सहयात्री रहेको नेपाली कांग्रेसले आज माओवादी केन्द्रलाई धोकेबाज शक्तिको रुपमा चिन्न थालेको छ।

राष्ट्रिय सभा निर्वाचनसम्म एउटा समीकरण र मंगलबार भएको राष्ट्रिय सभा निर्वाचनमा अर्को समीकरणका कारण अध्यक्षमा पनि उलटपुलट भएको छ।

हिजो नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सहमति गरेर अघि बढेको नेकपा माओवादी केन्द्रले अघिल्लो सहमतिलाई लत्याएर नेकपा एमालेसँग सत्ता साझेदार गरेपछि राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादीको तर्फबाट नारायण दाहाललाई उम्मेदवार बनायो। आखिर मंगलबारको निर्वाचनले उहाँ राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भइसक्नुभएको छ।

नेपालको वर्तमान निर्वाचन प्रणालीका कारण स्थिर सरकार बन्ने सम्भावना कम हुँदै गएकाले संसद्मा सानो शक्तिको रुपमा स्थापित दलहरुले ठूला दललाई नचाउन सफल हुँदै जानु पक्कै पनि राम्रो विषय होइन। जसरी नेकपा माओवादी केन्द्रले ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसलाई पालैपालो नचाउन सफल भएको छ, यसले नेपालको राजनीतिमा विकृति पैदा गरिरहेको छ।

जनताले राजनीतिक स्थिरताको चाहना राख्ने गरेको भए पनि अहिलेको निर्वाचन प्रणालीका कारण सत्ता समीकरणमा आउने फेरबदलले नेपालको समग्र विकासमा समेत नकारात्मक असर पारेको छ। त्यसैले यस्ता खाले निर्वाचन प्रणालीका बारेमा पटक–पटक प्रश्न उठ्ने गरेको भए पनि त्यसको समाधानतर्फ कोही लागेको देखिँदैन ।

मुलुकमा रोजगारीको अवस्था सिर्जना हुन नसक्दा दैनिक हजारौं युवाहरु रोगजारीको खोजीमा खाडीलगायतका मुलुकमा भौँतारिन बाध्य भए पनि त्यस्ता युवाशक्तिलाई पलायन हुनबाट रोक्ने कुनै उपाय भने दलहरुबीच देखिँदैन। आज विमानस्थलमा विदेशिनका लागि लाम लागेका युवाहरुको समूहले सत्ताधारीहरुलाई गिज्याइरहेको हुनुपर्ने हो।

मुलुकमा स्थिर सरकार बने मुलुकको विकास हुने थियो तर वर्ष–वर्षदिनमा सरकार परिवर्तन भइरहँदा यसले मुलुकको समग्र विकासमा दीर्घकालीन असर पारेको छ। त्यसैले अहिलेको निर्वाचन प्रणालीलाई दलहरुले सच्याउने प्रयास नगर्ने हो भने मुलुक सधैँ अस्थिर अवस्थामा रहने देखिन्छ।

त्यसैले यस्ता खाले समस्याको समाधान राजनीतिक दलहरुले नै खोज्नुपर्ने हुन्छ । मुलुक बनाउनका लागि व्यक्तिगत स्वार्थबाट उठेर अघि बढ्नुको विकल्प छैन । त्यसैले मुलुक बनाउनेतर्फ दलहरुले ध्यान केन्द्रित गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्