सय युवा एकीकृत समाजवादीमा

224
Shares

हेटौंडा ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरमा सय जना भन्दा बढी युवा प्रवेश गरेका छन्।
विगतमा नेकपा एमाले, माओवादी केन्द्र जस्ता राजनीतिक दलमा रही आफ्नो भूमिका निर्वाह गरिरहेका युवाहरु मंगलबार हेटौंडामा आयोजित एक विशेष समारोहमा पार्टी प्रवेश गरेको एकीकृत समाजवादी मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले जानकारी दिए ।

विगतमा एमालेको अभियानमा साथ दिँदै आएका मकवानपुर मनहरी–३ का युवा रोशन बलको नेतृत्वमा युवाहरुको समूह समाजवादीमा आवद्घ भएको हो । देश र जनताको भविष्य निर्माण अब एकीकृत समाजवादीबाट मात्र सम्भव हुने बुझेर आफू नेतृत्वमा प्रवेश गरेको बलले बताए । ‘हामी युवा देशका लागि लड्ने शक्ति भएकाले हाम्रा लागि उपयुक्त पार्टी एकीकृत समाजवादी हो भन्ने बुझेर हामी यस पार्टीमा प्रवेश गरेका छौं,’ बलले भने–हामी युवाहरुको भावना बुझ्दै एकीकृत समाजवादीले अब देशलाई अगाडि बढाउनेछ भन्नेमा विश्वस्त छौं ।

पार्टीमा प्रवेश गरेका युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य एवम् पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले टीका र खादा लगाएर स्वागत गरे ।

पार्टीका प्रभावशाली नेता खतिवडाले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाएर एकपटक मुलुकको शासन गर्ने तयारीमा लाग्नुपर्ने बताउनुभयो । विगतमा पनि थोरै संख्यामा सुरु भएको कम्युनिष्ट पार्टी पछि ठूलो हुँदै देश हाँकेको उदाहरण रहेको भन्दै खतिवडाले नीति, नेतृत्व अनि व्यवहार ठीक भए सफलता मिल्ने बताए ।

‘पार्टी निर्माणको अभियानमा तपाईंहरु पनि जोडिनुभएको छ,’ उनले भने–विद्यार्थीहरु विद्यार्थी संगठन, युवाहरु युवा संगठन र पार्टीमा जोडिएर राजनीति गर्न चाहनेहरु हाल पार्टी वडामा जोडिएर काम गर्न सक्नुहुन्छ । प्रवेश गरेका युवालाई उनीहरुको रुचिअनुसार जिम्मेवारी पार्टीले दिने बताउँदै जनताको दुःखमा अगाडि उभिदिन लागेमा जनताले विश्वास गर्न थाल्ने बताए ।

कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रीय सदस्य, संविधानसभा सदस्य राजाराम स्यांतान, जिल्ला उपसचिव किशोर टण्डन, कार्यालय सचिव तिलक अधिकारी, प्रचार विभाग प्रमुख रामकुमार एलन र जिल्ला कमिटी सचिवालय सदस्य गणेश कठायतलगायतको आतिथ्यता थियो ।