शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा घिमिरे नियुक्त

1.5k
Shares

काठमाडौं।

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा कुमारप्रसाद घिमिरे नियुक्त भएका छन् । शहरी विकास मन्त्री धनबहादुर बुढाको मन्त्रीस्तरीय निर्णयबाट सहसचिव घिमिरे महानिर्देशक नियुक्त भएका हुन् ।

तत्कालीन महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि केही समयदेखि महानिर्देशक पद रिक्त थियो । नवनियुक्त महानिर्देशक घिमिरे मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख थिए ।

२०४३ सालमा प्रशासन सेवाबाट सरकारी सेवा प्रवेश गरेका उनी र इन्जिनियरिङ सेवा समूहतर्फ २०५३ मंसिर ८ गतेदेखि इन्जिनियरका रूपमा नियुक्त भएका थिए । उनले यसअघि विभागको उपमहानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । घिमिरेले निजामती सेवा दिवसमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मानित भएका थिए ।

शहरी विकासको जानकारका परिचित महानिर्देशक घिमिरेकै सक्रियतामा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई व्यवस्थित बनाउने सिंहदरबार गुरुयोजना समेत स्वीकृत भएको थियो । उनले कोरोना महामारीको समयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनका सन्दर्भमा राम्रो काम गरेबापत निक्कै प्रशंसा समेत बटुलेका थिए ।

महानिर्देशक नियुक्त भएपछि घिमिरेले संस्थाको हितलाई केन्द्रमा राखेर नवप्रवर्तन र अध्ययन अनुसन्धानका लागि सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई क्रमशः पालना गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।