सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न


काठमाडौं ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं.१८ सिनियर डिभिजन तालिमको आज म‌ंगलबार सैनिक मञ्च टुँडिखेलमा दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरु दीक्षित भएका छन् ।

 

उक्त अवसरमा क्याडेट छात्र छात्राहरुलाई सम्बोधन गर्दै राष्ट्रिय सेवादलका संरक्षक  प्रधानमन्त्री पुष्प कमल दाहालले हालको विश्व परिवेशमा नैतिकवान, ऊर्जाशील, सृजनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको कुरा उल्लेख गर्दै वि.सं.२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवादल नेपाल उक्त जनशक्ति उत्पादनमा प्रयासरत रहेको बताए  ।

उनले राष्ट्रिय सेवादल तालिम नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र बढी भन्दा बढी युवा विद्यार्थीहरुलाई यस तालिममा समेट्न प्रयास भैरहेको कुरा बताउँदै युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन तालिमको ठूलो महत्व रहेको कुरा बताए ।

प्रधानमन्त्रीले यस वर्षको तालिममा सर्वोत्कृष्ट छात्र  सैनिक आवासीय महाविद्यालय, भक्तपुरका शसिलबाबु सिलवाल, सर्वोत्कृष्ट छात्रा सेन्ट जेभियर्स स्कुल, ललितपुरकी करिना राना मगर र सर्वोत्कृष्ट एबितययल  सैनिक आवासीय महाविद्यालय, भक्तपुरलाई पुरस्कार प्रदान गरे  । समारोहमा राष्ट्रिय सेवा दलका संरक्षक प्रधानमन्त्री तथा सह संरक्षकद्वय रक्षा मन्त्री हरि प्रसाद उप्रेती एवं प्रधान सेनापति  प्रभुराम शर्माले दीक्षित क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए  ।

दीक्षान्त समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक  सुरेश कुमार कार्की (अ.प्रा.) ले राष्ट्रिय सेवा दलको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए  सो क्रममा उनले राष्ट्रिय सेवादलका पूर्वी तालिम शिक्षालय, मोरङ्गको याङ्सिला, मध्य पूर्वी तालिम शिक्षालय, महोत्तरीको बर्दिवास, मध्य तालिम शिक्षालय, नवलपरासीको हात्तीखोर र पश्चिम तालिम शिक्षालय, बाँकेको कौशिलानगरबाट यस वर्ष ७,७०४ जना क्याडेट छात्ररछात्राहरूले सफलता पूर्वक तालिम सम्पन्न गरेको बताउँदै हालसम्म ७४,४८० जनाले राष्ट्रिय सेवादलको सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेको जानकारी दिए  ।

 समारोहमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित थिए । यसै गरि, नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग, मुख्य अनुसन्धान निर्देशक, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी, सैनिक श्रीमती संघका पदाधिकारीहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरू, सञ्चारकर्मी,  नेपालका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा सहभागी हुन आएका भारत, पाकिस्तान, श्रीलंका र मालदिभ्सका अधिकृत तथा क्याडेट छात्र छात्राहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय सेवादल नेपालका क्याडेट छात्रछात्राहरुले सांगीतिक एवं विविध कलाकौशल प्रस्तुत गरेका थिए ।