प्रदीप ज्ञवालीको व्यङ्ग्य : द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो 

6.3k
Shares

रोल्पा ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् ।
एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश वर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि विनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ´दश वर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन ।` उपमहासचिव ज्ञवालीले भने-´जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।`

उनले क्रान्तिको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए । सुन तस्करीको प्रसंग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे । ´दश वर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन  तस्करीको लाइन मिलाउन थियो ।` उनले भने-´ द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर व्यङ्ग्य गर्ने बेला आयो । यो विडम्बना हो ।`

एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताइन् । काँग्रेस-माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको संवृद्धिका लागि एमाले र माओवादीको गठबन्धन बनेको बताइन ।

केहीबेरमा सुरु हुने बन्द सत्रले एमाले रोल्पाको नयाँ जिल्ला कमिटी चयन गर्नेछ । अध्यक्षका लागि अमृत घर्ती,घनश्याम आचार्य,शान्तकुमार वली र रोशन वलीले दाबेदारी प्रस्तुत गरेका छन् ।