गोदावरी नगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरको पुन: स्थापना केन्द्रका लागि सय रोपनी जग्गा दिने

2.82k
Shares

काठमाडौँ। 

राष्ट्रिय ट्रमा सेन्टरले बनाउने भनेको पुन: स्थापना केन्द्रका लागि गोदावरी नगरपालिकाले एक सय  रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको गत ८ पुसमा बसेको कार्यपालिका बैठकले ट्रमा सेन्टरका लागि आवश्यक करिब सय रोपनी जग्गा उपलब्ध  गराउने निर्णय गरेको हो ।

नगरपालिकाको वडा नं १० र ६ को सीमामा पर्ने झ्यालुङटार सामुदायिक बन र फैडोल सामुदायिक बन क्षेत्र भित्र बन्द अवस्थामा रहेको पुरानो ढुंगा खानी क्षेत्रमा पुनर्स्थापनाका लागि जग्गा उपलब्ध भएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा बद्री रिजालले जानकारी दिए ।

‘चोटपटक लागेका, नसा च्यापिएका, ट्युमरका सर्जरी गरेका लगायत थुप्रै खालका बिरामीलाई रिहाविटेसन चाहिन्छ । ट्रमा केशलाई मात्रै हेर्ने हो भने झन्डै ७० प्रतिशतलाई फिजियोथेरापी गर्न पुनर्स्थापना केन्द्र (रिहाव सेन्टर)मा बस्नै पर्ने हुन्छ । तर, सरकारी तवरमा केन्द्रीय तहको यस्तो रिहाव सेन्टर छैन । त्यसैले हामीले केही समय देखि यसमा जोडबल गरेका थियौँ । गोदावरी नगरपालिकाले करिब सय रोपनी जग्गा हामीलाई उपलब्ध गराउने निर्णय गरेको छ । तर जग्गा प्राप्तिका केही प्रक्रियाहरु अझ बाँकी छन्,’ प्रमेसु डा. रिजालले भने ।