धोकाधडीको राजनीति



काठमाडौं ।

समयक्रमसँगै हुने सत्ता गठजोडको फेरबदल। राजनीति विशुद्ध लाभ र हानिको विषय मात्र भयो भने हुने यही हो। अहिले मुलुकमा यस्तै भइरहेको छ।

बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछिको केही अपवादबाहेक सत्ता प्राप्ति राजनीतिक दल र तिनका शीर्षस्थ नेताहरुको एकमात्र प्रमुख साध्य बन्दै आएको कुरो कतैबाट छिपेको छैन। तर राजनीतिक दलका आधारभूत सिद्धान्त, मान्यता, सामान्य नैतिकता र चरित्रसमेत तिलाञ्जलि दिई यति चाँडो सत्ता गठजोड हुने, फेरि भत्किने र अनि फेरि नयाँ सत्ता गठजोडको क्रमले तीव्र गति पाएको वि.सं. २०७२ पछिको संविधान बनेपछि मात्र हो।

अझ चुनावपूर्व गठजोड गरेर चुनावी प्रक्रियालाई फगत सत्ता प्राप्ति र औपचारिकतामा मात्र सीमित गरिदिएपछि गठजोड बन्ने र भत्किने कार्यलाई आश्चर्य मान्नुपर्ने जरुरी छैन। यसले गर्दा अहिलेको राजनीतिक धोकाधडीको खेल मात्र सीमित हुन पुगेको छ । कसले कसलाई कुन बखत धोका दिने भन्ने प्रश्न मात्र राजनीतिको अहं सवाल बनेको छ । अहिलेको समयलाई राजनीतिक विश्वासघात, विचारहीनताका हिसाबले सबैभन्दा विडम्बनाको क्षणका रुपमा लिनुपर्ने हुन्छ । यस्तो राजनीतिबाट कहिले मुक्ति पाइने हो ? सर्वसाधारणलाई अत्यास लागिसकेको छ ।

सिद्धान्ततः राजनीति राज्यको शक्तिको सदुपयोग गरी देश र जनताको सेवा गर्ने माध्यम हो । राज्यशक्तिको माध्यमबाट समग्र क्षेत्रमा आवश्यक सुधार र परिवर्तन गरी देश अनि जनताको सेवा गर्न सकिन्छ । तर राजनीति राज्यस्रोतको दोहन गर्ने कार्यको आवरण बनेपछि यति निकृष्ट ढंले धोकाधडी गर्ने खेल एकपटक होइन, पटक–पटक हुँदो रहेछ। के कांग्रेस, के एमाले, के माओवादी, यी सबैमा उत्तिकै सक्रियता रहेको छ।

पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग मिलेर सरकार बनाउँदा ‘देश र जनताको बर्बादीको एकमात्र कारण नै प्रचण्ड’ हो भनी सत्तोसराप गर्ने एमालेका नेताहरु प्रचण्डसँग मिलेर सरकार बनाएपछि अहिले राजनीतिले लय समातेको भनेर निर्लज्जतापूर्वक भाषण दिन थालेका छन्।

कांग्रेसका नेता र कार्यकर्ताहरुले पनि हिजोआजका एमालेका नेताहरुले झैँ भाषण दिएका थिए, आज प्रचण्डलाई गाली गरिरहेका कांग्रेसका नेता–कार्यकताहरु भोलि कांग्रेससँग मिलेर प्रचण्डले सरकार बनाए भने राजनीतिले सही ट्रयाक समातेको भनेर भाषण गर्नेछन् ।

दुवैको यही स्वभाव बुझेर प्रधानमन्त्री प्रचण्डले म नमरेसम्म यस्तै उथलपुथल भइरहन्छ भनी रतिभर लाज नमानीकन अभिव्यक्ति दिनुभयो । यसले राजनीति विशुद्ध सत्ताको गणित भएको स्पष्ट हुन्छ। यसले राज्यशक्तिमा पहुँच–प्रभाव नभएका, दैनिक समस्या भोग्नुपरिरहेका जनतालाई हदैसम्मको निराशा तुल्याउँदै लगेको छ।

यस्तो घटना बारम्बार किन घटिरहेको छ ? कसैले वर्तमान निर्वाचन प्रणालीले कसैको बहुमत नभएपछि हुने यस्तै हो भनी निर्वाचन प्रणालीमाथि दोष थोपरिरहेका छन्। कुनै दललाई बहुमत दियो, दलभित्रको आन्तरिक झगडाले सरकार चलाउन नसक्ने, भएको संसद् पनि विघटन गर्ने कार्य हुने गरेको निकट अतीतमा खड्गप्रसाद शर्मा ओलीले देखाइसकेका छन्।

सरकार चलाए पनि देश र जनताको लागि केही गर्ने होइन भन्ने कुरो शेरबहादुर देउवालाई हेरेर भन्न सकिन्छ। यस्तो बेला गर्ने के ? जनताको निरन्तर खबरदारी र नागरिक समाजको सक्रियताले केही भूमिका निर्वाह गर्न सक्ला कि ? जस–जसले आफ्नो स्थानबाट जे गर्न सकिन्छ, अहिलेको यथास्थिति तोड्न सक्रिय भएर लाग्नुपर्ने खाँचो छ।

प्रतिक्रिया दिनुहोस्