९औें नेपाल–पाकिस्तान मैत्री टी२० क्रिकेट टुर्नामेन्ट सम्पन्न



काठमाडौं। 

काठमाडौंस्थित पाकिस्तानी दूतावासले आयोजना गरेको ९औें नेपाल–पाकिस्तान मैत्री टी२० क्रिकेट टुर्नामेन्टमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौंले ट्रफी हात पारेको छ ।

टुर्नामेन्टमा जीत हात पारेको क्रिकेट एक्सिलेन्स सेन्टरलाई आइतबार एक समारोहमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला (ज्वाला)ले ट्रफी र नगद पुरस्कार ५० हजार रुपियाँ हस्तान्तरण गरे । उक्त टुर्नामेन्टमा ली क्रिकेट टीमले रनरअप ट्रफी हासिल गरेको थियो । उक्त टिमलाई ट्रफीसहित नगद पुरस्कार २५ हजार रुपियाँ प्रदान गरिएको थियो । हिमालयन बैंकको सहयोगमा गत फागुन १९ गतेदेखि सुरु भएको उक्त क्रिकेट टुर्नामेन्टमा विभिन्न क्लबका १२ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।

पुरस्कार वितरण समारोहमा खेलकुद परिषद्का उपाध्यक्ष कोइरालाले क्रिकेट टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न गराएकोमा पाकिस्तानी दूतावासलाई धन्यवाद दिँदै नेपाल–पाकिस्तान मैत्री टी२० क्रिकेट टुर्नामेन्ट काठमाडौंको खेलकुद क्यालेन्डरमा थपिएकोमा खुसी व्यक्त गरे । उनले यसले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले विजेता टोलीलाई बधाई दिँदै सन् २०१४ देखि सुरु भएको नेपाल–पाकिस्तान मैत्री टी२० क्रिकेट टुर्नामेन्टले नेपालका क्रिकेट खेलाडीहरूको हौसला बढाएको बताए । उनले भविष्यमा पनि यो टुर्नामेन्टलाई निरन्तरता दिँदै नेपाल र पाकिस्तान दुई देशका युवा खेलाडीहरु एकै ठाउँमा ल्याउने यस्तै अन्य कार्यक्रमहरू पनि आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव गोलाम सरवर, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी, इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबली, चिनियाँ दूताबासका आर्थिक एवं वाणिज्य काउन्सिलर छि यु, नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक उत्सव ढुंगाना, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्