भोटोभित्र कम्मरमा बाँधेर ल्याएको चरेससहित दुईजना पक्राउ



धादिङ ।

आफ्नो शरीरमा लुगाको भित्र कम्मरमा बाँधेर ओसारपसार गर्दै गरेको चरेससहित प्रहरीले सोमबार  २ जनालाई पक्राउ गरेको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर २ महादेवबेशीबाट ९ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेससहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र २३ वर्षीय सागर भन्ने नारायण दमाई रहेका इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक देवेन्द्र बहादुर साहले बताए ।

प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्राबाट महादेववेशीतर्फ जाँदै गरेको ना४ ख ४८३ नम्बरको यात्रुवाहक बसलाइ चेक जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेससहित पक्राउ गरिएको थियो ।

उनीहरुले शरीरमा लगाउने खल्ती  भएको कपडाको भोटो बनाई, सो भोटो कपडा शरीरमा लगाई सोही कपडा भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्