‘चौथो मञ्जुश्री ट्रेल रेस’ चैत २३ मा हुने



काठमाडौँ ।

‘चौथो मञ्जुश्री ट्रेल रेस’ आगामी चैत २३ गते सुरु हुने भएको छ ।

एसिया ट्रेल मास्टर्सको छनोट खेलका रूपमा आयोजना हुन लागेको चौथो संस्करण अन्तर्गत मञ्जुश्री ट्रेल रेसको आवेदन खुलाइएको हो । जस अन्तर्गत मञ्जुश्री ट्रेल रेसको १ सय माइल र १ सय किलोमिटरको उत्कृष्ट ५ जनालाई एसिया ट्रेल मास्टर्समा सहभागी गराइनेछ ।

‘मञ्जुश्री ट्रेल रेस’ नामक गैरसरकारी संस्थाको आयोजना हुने उक्त प्रतियोगितामा चीन, फ्रान्स आदि देशका विश्व वरियताको शीर्ष स्थानमा रहेका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ । अहिलेसम्म विभिन्न १० देशबाट १ सय ३० खेलाडी सहभागी हुने निश्चित भइसकेको आयोजकले जनाएको छ । नेपाल सरकारको सहयोगमा आयोजना हुन लागेको पर्वतीय खेल महोत्सवका विभिन्न आधिकारिक खेल मध्ये ट्रेल रनिङका लागि मञ्जुश्री ट्रेल रेसलाई अनुबन्धित गरिएको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिएका छन् ।

सन् २०२३ को रेसको चार चरणमा गरी ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना प्रतियोगी सहभागी भएका थिए । जसमध्ये ६९ जना पुरुष र १९ जना महिला रहेको अध्यक्ष थापाले जानकारी दिए । रेसमा सहभागी हुन इच्छुकले मञ्जुश्री ट्रेल रेसको आधिकारिक वेबसाइट (manjushreetrailrace.com) मार्फत आवेदन दिन सक्ने आयोजकले जानकारी दिएको छ ।

१ सय ७० किलोमीटर रेसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । सय किलोमीटर रेसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, पचास किलोमीटर रेसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ । आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अङ्क प्राप्त गर्छन् जुन आइटिआरए सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले निजि पहलमै सन् १०१६ मा यो रुट छिचोले । जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक-पटक गरी ट्रेलको वैकल्पिक रुटहरू सहित नक्साङ्कन गरेका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नजिकैको दूरीमा ऐतिहासिक भूमिबाट रेस सुरू गर्ने काम मञ्जुश्री ट्रेल रेसले गर्दै आएको छ । काठमाडौँ उपत्यकालाई फन्का मारेर रेसको मज्जा लिन सकिने भएकाले मञ्जुश्रीले आयोजना गर्दै आएको यस रेसतर्फ आकर्षण चुलिँदो छ । मञ्जुश्री ट्रेल रेसले हरेक वर्ष रेस आयोजना गर्दै आइरहेको छ । विभिन्न चरणमा विभिन्न ब्यक्तिको संलग्नतामा १ सय ७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो । हाल आएर यो रुटका विभिन्न संघ सस्था आदिले यहि क्षेत्रमा साइलिङ, हाइकिङ आदि सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्