मन्त्रालयले तोक्यो शिक्षामा कार्यक्रमगत सिलिङ



काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सिलिङ ५८ अर्ब २९ करोड ८७ लाख रुपियाँ बजेट सिलिङ तोकेको छ।

त्यसमा चालुतर्फ ५३ अर्ब ९ करोड ८७ लाख र पुँजीगत तर्फ ५ अर्ब २० करोड रुपियाँ रहेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको यो सिलिङ चालु आबको भन्दा २ दशमलव ६ प्रतिशतले बढी रहेको छ।

आगामी आर्थिक वर्षका लागि २३ बुँदे नीति तथा कार्यक्रम तयार गर्ने क्रममा बजेट बाँडफाँट गरिएको छ। शिक्षा मन्त्रालयअन्तर्गत १५ र विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत ८ गरी २३ शीर्षकमा बजेट तोकिएको छ।

सिलिङअनुसार बजेट व्यवस्था गरे पनि बजेट तयार हुँदा कम रकम विनियोजन हुने गरेको छ । सरकारले नीति तथा कार्यक्रम पारित गरेपछि मात्र बजेट व्यवस्था गर्नेछ भने बजेटको झण्डै ५० प्रतिशतभन्दा बढी रकम तलब भत्तामा जानेछ ।

नीति कार्यक्रमको बजेट खाकाअनुसार सबैभन्दा बढी बजेट विश्वविद्यालयको लागि रहेको छ । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानबाट सञ्चालित शैक्षिक कार्यक्रम अध्ययन, अध्यापन र अनुसन्धान पद्धति, पाठ्यक्रम र मूल्याङ्कन प्रणालीमा पुनरावलोकन गरी शैक्षिक क्यालेन्डरको प्रयोगमार्फत् शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन २० अर्ब ५ करोड रुपियाँको बजेट सिलिङ तयार गरिएको छ ।

सातवटा प्रदेशमा स्थापना चरणमा रहेका मेडिकल कलेजहरूको भौतिक एवं शैक्षिक पूर्वाधार विकास शीर्षकमा ४० अर्ब ६० करोड, गत वर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भई गएका भूकम्पबाट क्षतिग्रस्त सामुदायिक भवन पुनर्निर्माण कार्य शुरू गरी आगामी ३ वर्षभित्र सम्पन्न गर्ने गरी ४ अर्ब ५० करोड, सीटीईभीटीलाई संघीय संरचनाअनुरूप पुनःसंरचना शीर्षकमा ३ अर्ब ७६ करोड बजेट तयार गरेको छ ।

मन्त्रालयले गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न १ अर्ब ६१ करोड, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न २ अर्ब ८ करोड बजेट तयार गरेको छ। मन्त्रालयको योजना तथा अनुगमन महाशाखाले नीति तथा कार्यक्रमको अन्तिम रूप दिने तयारी गर्दै अनुमानित बजेट तयार गरेको हो।

बजेटमा साक्षरता कार्यक्रमलाई मुख्य कार्यक्रमको रुपमा अघि बढाइएको छ। हालसम्म ३ वटा प्रदेश र ६४ जिल्ला साक्षर घोषणा भइसकेका छन्।

लक्षित वर्ग र समूहको पहिचान गरी साक्षर हुन बाँकी प्रदेश, जिल्ला र स्थानीय तहलाई प्रोत्साहन गरी साझेदारीमा विशेष कार्यक्रममार्फत् लक्षित वर्गलाई साक्षर गर्ने योजना ल्याइएको छ।

त्यसको लागि करिब ६९ करोड, १५ लाख बजेट आवश्यक पर्ने उल्लेख छ। प्रविधिअन्तर्गत अनुसन्धान तथा नवप्रवर्तन कोषमा विकास बजेटको १ प्रतिशतलाई निरन्तरता दिँदै २ अर्ब, विज्ञान, साक्षारता समाज एवं विज्ञान प्रवर्द्धन गर्न ८० लाख, निर्यातमुखी उद्योगको उत्पादन र उत्पादकत्व अभिवृद्धि १० करोड, बीपी कोइराला मेमोरियल प्लानिटोरियम र विज्ञान संग्रहालयलाई पूर्ण क्षमतामा ल्याउन १ अर्ब ५४ करोड, युवा वैज्ञानिक प्रोत्साहन ५० करोडको अनुमानित बजेट खाका तयार गरिएको छ ।

शिक्षा, विज्ञान प्रविधितर्फ कुन कार्यक्रमलाई कति 
–अनिवार्य एवं निःशुल्क शिक्षा– १ अर्ब ५८ करोड
–साक्षरता विशेष कार्यक्रम– ६९ करोड १५ लाख
–शैक्षिक गुणस्तर सुदृढीकरण – १ अर्ब ८ करोड
–विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण– ८ करोड ५० लाख
–गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न – १ अर्ब ६१ करोड
–विद्यालयमा सूचना प्रविधि तथा प्रयोगशाला बिस्तार – २ अर्ब ८ करोड
–आफ्नै मौलिकतामा आधारित नैतिक र मानवमूल्यसँग सम्बन्धित ज्ञान तथा राष्ट्रिय प्रबद्र्धन – ३० करोड
–विद्यालय तहको प्राविधिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप तयार – २० करोड
–जाजरकोट र बझाङ केन्द्रबिन्दु भएको भूकम्पबाट ध्वस्त भएका विद्यालय पुनःनिर्माण – ४ अर्ब ५० करोड
–विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानबाट सञ्चालित शैक्षिक कार्यक्रम अध्ययन अध्यापन, शैक्षिक क्यालेन्डर प्रयोग – २० अर्ब ५ करोड
–उच्च शिक्षामा सबैको पहँुच सुनिश्चितता – २७ करोड
–अनुसन्धान नवप्रवद्र्धक व्यावसायिक र उद्यमशिलता –१ अर्ब १० करोड
–सीटीईभीटीलाई संघीय संरचनाअनुरूप पुनसंरचना – ३ अर्ब ७६ करोड
–सातबटा प्रदेशमा रहेको मेडिकल कलेजको शैक्षिक एवं भौतिक पूर्वाधार – ४ अर्ब ६० करोड
–सबै निकायको डिजिटलाइज्ड गरी सेवा प्रवाहलाई सरल, र सहज र प्रभावकारी बनाउन – ६५ करोड
–अनुसन्धान तथा नवप्रवर्तन कोषमा विकास बजेटको १ प्रतिशतलाई निरन्तरता – २ अर्ब
–विज्ञान साक्षरता समाज एवं विज्ञान प्रवद्र्धन गर्न – ८० लाख
–निर्यातमुखी उद्योगको उत्पादन र उत्पादकत्व अभिवृद्धि– १० करोड
–बीपी कोइराला मेमोरियल प्लानिटोरियम र विज्ञान संग्रहालयलाई पूर्ण क्षमतामा ल्याउन – १ अर्ब ५४ करोड
–राष्ट्रिय विधि विज्ञान प्रयोगशाला शाखा कार्यालयको सुदृढीकरण – २० करोड
–युवा वैज्ञानिक प्रोत्साहन – ५० करोड
–नास्टको प्रयोगशालाको स्तरीकरण – २० करोड
–पारमाणविक अनुसन्धान केन्द्र स्थापना – २ करोड

प्रतिक्रिया दिनुहोस्