भुकम्पमा परी अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले बेवास्ता गर्‍याे


सुर्खेत ।

राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका जन–वकालत अधिकृत जितलाल ढकालले जाजरकोट भुकम्पमा कति अपाङ्गता भएका व्यक्तिको मृत्यु भयो? भन्ने समेत सरकारसँग तथ्याङ्क नभएको बताउनुभएको छ । ‘त्यति मात्रै कहाँ हो र, एकद्वारबाट दिइएको राहतमा समेत अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुगेन’, उहाँले भन्नुभयो,‘अब भन्नुस् यो भन्दा दुख र निराशा के होला ।’

उहाँका अनुसार महासंघले गरेको अध्ययन अनुसार जाजरकोटका चार पालिका र रुकुम पश्चिमका २ पालिकामा गरि चार हजार ३ सय ३३ अपाङ्गता भएका व्यक्तिहरु भुकम्पबाट प्रभावित भएका छन् । सिबिएम नेपालको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले बुधबार (आज) सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई पहुचमा पुराउन हरेक क्षेत्र अपाङ्गतामैत्री हुनुपर्ने सरोकारवालाले जोड् दिएका छन् । यसका लागि सरकारले नीति निर्माण गर्दा ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । उनिहरुले विपद् व्यवस्थापन गर्दा समेत अपाङ्गता समावेशी हुनेगरी गर्नुपर्ने भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताएका छन् ।

नेपाल रेडक्रस सुर्खेतका गोविन्द आचार्यले विपद्को बेलामा अपाङ्गता भएका व्यक्तिहरुमा धेरै जोखिम र समस्या पर्ने गरेको भन्दै त्यही अनुसारको योजना बनाउनुपर्ने सुझाउनुभयो । उहाँले विपद् व्यवस्थापनमा समेत समावेशी ढङ्गले गर्नुपर्नेमा जोड दिनुभयो । छलफल कार्यक्रममा बोल्दै मनोसामाजिककर्ता लक्ष्मण नाथले अपाङ्गता सम्बन्धिका कार्यक्रम संचालनको क्रममा केही दुरी देखिएको भन्दै दिने र लिनेको रुपमा हेर्न नहुने सुझाव दिनुभयो । उहाँले विपद्को पूर्व तयारी गरेर योजना बनाउनुपर्ने, जसकाकारण अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने उल्लेख गर्नुभयो ।

यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले स्थानीय तहहरुले विपद् सम्बन्धि नीति बनाएपनि ती नीतिहरु अपाङ्गतामैत्री नहुँदा कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । उहाँले हालै जाजरकोटमा गएको भुकम्पबाट ध्वस्त संरचनाहरु पुनःनिर्माण भइरहेकाले अब बन्ने संरचना सबैको पहुँचयुक्त हुनुपर्ने बताउनुभयो ।

 

भुकम्प प्रभावितहरुलाई राहत दिने नाममा कम्बल र चामल मात्र बाडिएको भन्दै राहातमा समेत अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसकेको उहाँको भनाई छ । ‘भुकम्प प्रभावित क्षेत्रमा राहतको नाममा कम्बल र चामल बाडियो, अपाङ्गता भएका प्रभावित व्यक्तिहरुलाई ह्वीलचिय चाहिएको थियो, तर त्यतातर्फ ध्यान दिइएन ।’ उहाँले भन्नुभयो ।

भुकम्पमा कति अपाङ्गता भएका व्यक्तिहरु प्रभावित भए त्यसको समेत सरकारसँग कुनै लेखाजोखा नभएको भन्दै आगामी दिनमा एथेष्ट तथ्याङ्कको आधारमा मात्रै राहत सामग्री दिन उहाँले सुझाव दिनुभयो ।

अध्यक्ष शर्माले अपाङ्गताको सवाल अन्य साझेदार संस्थाहरुले पनि उठाएर त्यही अनुसारको योजना बनाइदिन आग्रह समेत गर्नुभयो । ‘अपाङ्गताको सवाल एउटा संस्थाले मात्रै वकालत गरेर हुँदैन, तपाईँ सबै साझेदार संस्थाहरुले समेत हरेक कार्यक्रममा उठाइदिनुभयो भने सहज हुने छ ।’

राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय महासचिव सुगम भट्टराइले विपद्मा अपाङ्गता भएका व्यक्तिहरु उच्च जोखिममा रहने भन्दै त्यहीअनुसारको विपद् पूर्व तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।