सरकारी जग्गा कब्जा गर्ने बोर्ड तत्काल हटाउन रुपन्देहीका प्रजिअको निर्देशन

0
Shares

बुटवल ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सार्वजनिक जग्गा संरक्षणको अभियानमा जुटेका छन् । बुटवलमा सरकारी जग्गा करिब एक दर्जन संघसंस्थाले कब्जा गर्न खोजेकोप्रति जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उक्त जग्गा संरक्षण गर्न बुटवल उपमहानगरपालिका र वडा कार्यालयलाईपत्राचार गरी निर्देशन दिएको हो ।

बुटवल वडा नंं १७ रानीगन्जमा रहेको नदी उकास क्षेत्रमा भवन र अन्य प्रयोजनका लागि भन्दै विभिन्न संघसंस्थाले अनधिकृत ढंगले सूचना पाटी (बोर्ड) गाडेका थिए ।

सशस्त्र प्रहरी बलको सामुन्ने खुद्रा किराना व्यवसायी संघ, नेपाल हाप्किडो संघ, थारु कल्याणकारिणी सभा, भिन्धो नेवा समाज, एकल महिला समूह, ब्राह्मण समाज र नाम नखुलेको संस्थाको छात्रावास भवन निर्माण प्रयोजन लेखिएको बोर्डहरु गाडिएका छन् ।

यस्तै जनआत्मा निर्भरता विकास समूह नामको एनजीओ,शानि्तदीप खानेपानी,मगर महिला समूह,कुमाल समाज,जेष्ठ नागरिक मिलन केन्द्रले पनि भवन बनाउने भन्दै बोर्ड गाडेका छन् ।
कतिपय संस्थाले भवन निर्माण शुरु गरेका छन् ।

उनीहरुले २ कठ्ठादेखि ५ कठ्ठासम्म गरी दुई बिघा बढी सरकारी जग्गा हडप्न बोर्डहरु गाडेका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले बुधबार सूचना जारी गर्दै सरकारी जग्गा आफूखुशी कब्जा गर्न खोज्नु कानूनतः दण्डनीय भएकाले गाडिएका बोर्ड हटाई उक्त जग्गा सार्जजनिक रहेको ब्यहोरा जनिने बोर्ड राख्न निर्देशन दिएका छन्  ।

 …सरकारी जग्गामा अनधिकृत बोर्ड गाडेर कब्जा गर्न खोजेको विभिन्न सञ्चारमाध्यममा देखेपछि हाम्रो गम्भीर ध्यानाकर्षण भयो, हामीले फिल्ड पनि हे¥यौं, वडा र उपमहानगरले अनधिकृत बोर्ड हटाउन वास्ता नगरेपछि सूचना जारी गरेका छौं–प्रमुख जिल्ला अधिकारी अर्यालले बनेका छन्  । वडामा रहेको सरकारी जग्गा कब्जा हुँदा वडा कार्यालय र बुटवल उपमहानगरपालिकाले जग्गा संरक्षणमा वास्ता नगरेको स्थानीयको गुनासो छ ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले मोतिपुर औद्योगिक क्षेत्रका नाममा लालपुर्जा आइसकेको जग्गामा संघसंस्थालाई भवन बनाउन दिने आधिकारिक निर्णय नभएको र तत्काल बोर्ड नहटाए कानूनी दायरामा ल्याउने बताएका छन्  ।