सरकार गलत छ, व्यवस्था होइन : शंकर पोखरेल



काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण व्यवस्था प्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन्।

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले अहिले नागरिकमा व्यवस्था प्रति देखिएको असन्तुष्टि सरकारको असक्षमताको कारण भएको बताए। ‘सरकार गलत छ, व्यवस्था होइन’, पोखरेलले भने।

नेपाल अहिले इतिहासकै कमजोर अवस्थामा रहेको उनले बताए। सरकारले देश र जनताको हितमा काम गर्न नसकेको पोखरेलले बताए। देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलको भनाइ छ।

नेपालको हित र सरोकारका प्रश्नमा छिमेकीसँग संवाद गर्न र देशको हितमा काम गर्ने सामर्थ्य सरकारसँग नरहेको उनले बताए। यो कुरालाई बदल्नु पर्ने भए पनि गठबन्धन सरकारमा रहँदासम्म यो अवस्था बदलिने सम्भावना नरहेको पोखरेलले बताए।

गठबन्धन सरकारको गतिविधिको कारण निराश भएर युवा विदेश पलायन हुँदै गएका पोखरेलले बताए। ‘मुलुकको भविष्य अँध्यारो देख्दा मानिसहरूमा निराशा बढेको छ’, उनले भने।

सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताए। यसले सरको चरित्र स्पष्ट भएको उनले टिप्पणी गरे।

जनतालाई आशा जगाउन नेकपा एमालेले झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा चलाएको उनले जानकारी दिए। अब मधेस केन्द्रिय त्यस्तै प्रकृतिको यात्रा सञ्चालन हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्