संसद्‌मा एमालेले भन्यो- प्रधानमन्त्रीको खोजी गर्न संसदीय समिति बनाउनुपर्ने हो ?

98
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाका  सभामुखको पटक-पटकको रुलिङलाई प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराए।

‘प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो। संसद्ले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद् स्थगित गर्नुपर्ने हो ? खोजी गरियोस्’, निरन्तरको रुलिङ हुँदा पनि प्रधानमन्त्री जवाफ दिन नआएको भन्दै उनले भने ।

थापाले दुई युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनासहितमा दोषी देखिएका र मुछिएका मन्त्रीलाई बर्खास्त गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड नआएपछि बैठक अघि बढ्न नसक्ने बताए।

सभामुख देवराज घिमिरेले गरेको रुलिङ विपरीत प्रधानमन्त्री प्रचण्ड जवाफ दिन बैठकमा नआएपछि एमालेसहित प्रतिपक्षी दलले आपत्ति जनाएका छन् ।

बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ।

साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन्।

उनीहरुले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ। तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन्। तर, प्रधानमन्त्री संसद् छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए। प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाइरहेका छन्।