सर्वोकृष्ट नतिजाको खुशीमा बजार परिक्रमा



हेटौंडा ।

हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले देशभरमै सर्वोकृष्ट नतिजा निरन्तर हासिल गर्न सफल भएको भन्दै बुधबार हेटौँडामा बाजागाजासहित बजार परिक्रमा गरेको छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको बीबीए पाँचौँ सेमेस्टरको नतिजामा मकवानपुर बहुमुखी क्याम्पस नेपाल टप हुन सफल भएको खुसीयालीमा बुधबार र्‍याली निकालिएको हो।

बीबीए पाँचौँ सेमेस्टरमा ५ जना विद्यार्थी ४ जीपीए ल्याउन सफल भएका छन्। क्याम्पसकी छात्रा इरा लामा, इशा श्रेष्ठ, क्रिष्टिना दाहाल, सैय्यद अतिफा हसन र सैय्यद अफिफा हसनले ४ जीपीए ल्याए।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा क्याम्पसका पूर्वअध्यक्ष डोरमणि पौडेल, अध्यक्ष अनन्त पौडेल, क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्याय र स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष छोइसाङ लामासहित प्राध्यापक, कर्मचारीको सहभागिता रहेको थियो।

उनीहरुले विद्यार्थीलाई बधाई ज्ञापन गरे। बीबीए पाँचौँ सेमेस्टरमा क्याम्पसबाट ३३ जना विद्यार्थीले सहभागिता जनाएको बीबीए कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिए।

‘मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षामा सहभागिता जनाएका विद्यार्थीहरूको नतिजा राम्रो आइरहेको छ,’ क्याम्पस अध्यक्ष अनन्त पौडेलले भने–‘विद्यार्थीले राम्रो नतिजा ल्याउनमा विद्यार्थी, प्राध्यापक र अभिभावकको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका छ।’

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी, प्राध्यापकलगायतको सहभागितामा नगर परिक्रमा गरी क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो। बीबीए सातौँ सेमेस्टरमा पनि मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा सृष्टि महर्जनले जीपीए ४ ल्याउँदै नेपाल टप भएकी थिइन्।

बागमती प्रदेश सरकारले हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद् बैठकले प्रदेशको केन्द्रीय क्याम्पसका रूपमा उक्त क्याम्पसलाई विकास गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले मोफसलकै धेरै विद्यार्थी अध्ययन गर्नेमध्ये एक रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

बागमती प्रदेशमा प्रदेश सरकार मातहतको विश्वविद्यालय आवश्यक रहेका कारण प्रदेशको राजधानी हेटौँडामा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णय गरिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।

विभिन्न सरोकारवाला तथा मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिसँगको विभिन्न चरणमा गरिएको छलफलपश्चात् विश्वविद्यालय बनाउने निर्णय लिइएको मुख्यमन्त्री जम्कट्टेलले बताए।

प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित सर्वदलीय एवम् सर्वपक्षीय बैठकमा प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद, शिक्षासँग सम्बन्धित विशेषज्ञ तथा प्रशासनिक निकायका प्रमुखको बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने सहमति गरेको हो।

मकवानपुर बहुमुखी क्याम्पसमा हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकमा मानविकी, वाणिज्य, शिक्षा र विज्ञान सङ्काय तथा स्नातकोत्तरमा वाणिज्य, मानविकी र शिक्षा सङ्काय पढाइ भइरहेको क्याम्पस प्रमुख डा. उपाध्यायले जानकारी दिए।

मकवानपुर बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको सबभन्दा ठुलो क्षेत्रीय क्याम्पस हो। यस क्याम्पसले विज्ञान, मानविकी र व्यावसायिक अध्ययनलगायत विषयमा स्नातक, र स्नातकोत्तर डिग्री प्रदान गर्दछ।

प्रतिक्रिया दिनुहोस्