अम्बानीका छोराको विवाहमा सहभागी हुन भारत आइपुगे मार्क जुकरबर्ग

104.81k
Shares

एजेन्सी ।

अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो विवाह समारोहमा सहभागी हुनका लागि भारतको जामनगर आइपुगेका छन्।

उनी आफ्नी पत्नी प्रिसेलिया चानसँग जामनगर पुगेका थिए। जहाँ उनलाई विमानस्थलमा गुजराती परम्परागत शैलीमा स्वागत गरिएको थियो।

मार्क जुकरबर्ग भन्दा पहिले एमार प्रोपर्टीजका संस्थापक मोहम्मद अलब्बर पनि जामनगर पुगिसकेका छन्। इमार प्रोपर्टीज, त्यही हो, जसले बुर्ज खलिफा बनाएको थियो । हाल इमार विश्वका ८० देशमा काम गरिरहेको छ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा धेरै बलिउड सेलिब्रेटीहरू सहभागी भएका छन्। अहिलेसम्म शाहरुख खान, सलमान खान, रणवीर कपुर, आलिया भट्ट, अर्जुन कपुर र जान्हवी कपुर समारोहमा सहभागी हुन जामनगर पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसै गरी, भारतका अर्बपति मुकेश अम्बानीको छोराका विवाहमा सहभागी हुनका लागि माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स, साउदी आरामकोका अध्यक्ष यासेर अल रुमायान, एनभी इन्भेष्टमेन्टका संस्थापक भिभी नेभो, हार्वर्ड बिजनेस स्कुलका पूर्व डिन नितिन नोहरिया, सीसीआरएम न्यूयोर्कका संस्थापक साझेदार डा. ब्रायन लेभिन, सोनीका सीईओ केनिचिरो योशिदालगायत भारत आएका छन् ।