राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

42
Shares

काठमाडौं ।

राष्ट्रियसभाको आज बैठक बस्दै छ। बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन २०८०’ सभा समक्ष पेस गर्नेछिन्।

दिगो व्यवस्थापन तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्नेछन् ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘ खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन २१०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।

यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् र उनले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

साथै, राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आले मगरले ‘राष्ट्रियसभा (दोस्रो संशोधन नियमावली) २०८० माथि दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् भने लगत्तै ‘पारित गरियोस्’ प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।