बीसीसीआईको सेन्ट्रल कन्ट्रयाक्टबाट किन हटाइए इशान किशन र श्रेयस अय्यर ?

4.4k
Shares

काठमाडौं ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले आफ्नो सेन्ट्रल कन्ट्रयाक्ट सूचीबाट श्रेयस अय्यर र इशान किशनलाई हटाएको छ।

दुवै क्रिकेटर इन्डियन प्रिमियर लिग अर्थात आईपीएलमा आफ्नो फ्रेन्चाइजको हिस्सा हुनेछन्। दुवै आ–आफ्नो टोलीका स्टार ब्याट्सम्यान हुन्।

आईपीएल सम्झौतामा हुनु उनीहरूका लागि निकै फाइदाजनक छ तर बीसीसीआईको सम्झौताबाट बाहिर हुनु यी खेलाडीहरूको आर्थिक र क्रिकेट करियरको लागि ठुलो धक्का भएको विश्लेषण भइरहेको छ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान इशान किशनको नाममा छ भने श्रेयस अय्यरले २०२३ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकपमा भारतका तेस्रो सर्वाधिक रन बनेका थिए।

श्रेयस अय्यरले १४ टेस्ट खेल खेलेर ८११ रन बनाएका छन् । श्रेयसले ५९ एकदिवसीय खेल खेलेर २३८३ रन बनाएका छन्। एकदिवसीयमा श्रेयसको अधिकतम स्कोर १२८ हो। उनी ४९ को औसतमा खेल्छन्।

दुवै खेलाडीमाथि बीसीसीआईको निर्देशन बेवास्ता गरेको आरोप लागेको छ । केही साताअघि मात्र बीसीसीआई सचिव जय शाहले एक पत्र लेख्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीहरूले रातो बल क्रिकेट (रणजी र टेस्ट क्रिकेट) भन्दा आईपीएललाई प्राथमिकता दिन नसक्ने चेतावनी दिएका थिए।

बीसीसीआईको सेन्ट्रल कन्ट्रयाक्टमा परेका क्रिकेटरले मात्रै बीसीसीआईको सुविधा लिन पाउनेछन्। यसमा राष्ट्रिय क्रिकेट एकेडेमीका सुविधाहरू पनि समावेश छन्। कुनै पनि खेलाडी घाइते भएमा राष्ट्रिय क्रिकेट एकेडेमी निकै महत्वपूर्ण हुन्छ। सेन्ट्रल कन्ट्रयाक्टमा परेका क्रिकेटरहरूको बिमा हुन्छ। बिमा हुने हुनाले चोट लागेपछि हुने सबै खर्च बोर्डले गर्ने गर्दछ।

इशान किशन केही समयदेखि लगातार टिम इन्डियामा रहेका छन् तर एक वा एकभन्दा बढी नियमित खेलाडी उपलब्ध नहुँदा मात्रै उनले खेल खेल्ने मौका पाउने गरेका थिए। यो कठिनाइ र अनिश्चितताका कारण इशान किशन मानसिक थकानबाट ग्रसित रहेपछि उनले खेलबाट ब्रेक लिएका थिए।

इशानले बंगलादेशविरुद्धको एकदिवसीय खेलमा दोहोरो शतक बनाएपछि पनि टिममा स्थान नपाएको विषय भारतीय क्रिकेटमा सधैँ चर्चा हुने गर्दछ।

मिडिया रिपोर्टका अनुसार दक्षिण अफ्रिकासँगको टेस्ट सिरिजबाट ब्रेक लिएपछि इशान किशन दुबईमा पार्टी गरिरहेको देखिएका थिए। यसलाई अनुशासनहीनताको रूपमा हेरिएको छ।