गेटवेलाई पिस प्वाइन्ट कप

126
Shares

काठमाडौं ।

गेटवे एकेडेमीले छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ।

सानोगौचरण मैदानमा भएको फाइनलमा आयोजक पिस प्वाइन्टलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै गेटवे एकेडेमी नयाँ च्याम्पियन समेत बन्यो। निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि निर्णय सीधै पेनाल्टी शुटआउटबाट गरिएको थियो।

यो हारसँगै पिस प्वाइन्ट उपाधिमाथि दोहोरो ह्याट्रिक गर्नबाट चुक्यो। विगतका पाँचै संस्करणको उपाधि पिस प्वाइन्टले जितेको थियो।

गेटवेका लागि प्रदिप खत्री, शिशीर श्रेष्ठ, राजन आचार्य, प्रतीक रायमाझी र लक्ष्मण उप्रेतीले गोल गरे । पिस प्वाइन्टका पवन बुढाथोकी, विशेष थिङ, नितेश मोक्तान र प्रज्ञान राईले गोल गरे । महेश राई चुके ।

उपाधि यात्रामा गेटवेले यसअघि पहिलो चरणमा ज्ञान निकेतनलाई ११–०, क्वाटरफाइनलमा त्रिवेणीलाई ८–० र सेमिफाइनलमा एकलब्यलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो ।

मनकामनाले एकलब्यलाई ५–० गोलले पाखा लगाउदै तेश्रो भयो। पाँचै गोल सनिल मगरबाट सम्भव भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हासिल गरे ।

गेटवेका लक्ष्मण उप्रेती प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। गोलरक्षकमा गेटवेका रोहन महत, डिफेन्समा पिस प्वाइन्टका नितेश मोक्तान र प्रशिक्षकमा गेटवेका युमन छोछे उत्कृष्ट चुनिए।

प्रतियोगिताभर २० गोल गरेका पिस प्वाइन्टका राहुल लामा सर्वाधिक गोलकर्ता बने। पिस प्वाइन्टले क्वाटरफाइनलमा प्रस्फुटन विरुद्ध २४–१ को जित निकाल्दा राहुल एक्लैले १४ गोल गरेका थिए।

विजेतालाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराटजंग शाही, ३६१ डिग्रीका प्रबन्ध निर्देशक धीरज कार्की, आयोजक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नर्बदा थापा, पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।