जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले लिनुपर्छ : मन्त्री शर्मा


काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएकी छन्  ।  बलिदान दिवस तथा सहिद सप्ताहका अवसरमा अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ता नयाँ उत्साह र योजनाका साथ अघि बढ्नपर्ने बताइन्  ।

माओवादीले जनयुद्ध गरेपछि २०५२ साल फागुन १४ गते तत्कालीन सरकारद्वारा दिलबहादुर रम्तेल मारिएको स्मरणमा अखिल क्रान्तिकारीले हरेक वर्षको फागुन १४ गतेलाई बलिदान दिवसको रुपमा मनाउँदै आएको छ । फागुन १४ को रम्तेले हत्यादेखि फागुन २१ को सुखानी हत्याकाण्डसम्मलाई जोडेर माओवादी केन्द्रलगायतका दलहरुले सहिद सप्ताह मनाउँदै आएका छन् ।

सोही क्रममा अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी स्थायी समिति सदस्य समेत रहेकी मन्त्री शर्माले अघिल्लो पुस्ताको बलिदानका आजको पुस्ताले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको बताइन् । ‘आजको तपाइँको पुस्ता यसकारण भाग्यमानी हो, जसले निरंकुशता भोग्नुपरेको छैन । जेल, नेल, यातना सहनुपरेको छैन’– उनले भनिन्– ‘हिजोको पुस्ताले बगाएको आँसु, रगत र पसिनाको योगफल नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र हो, यसकै परिणाम आजको पुस्ता स्वतन्त्रताको खुला आकाशमा रमाउन पाएको छ ।’

त्यसैले स्वतन्त्रता सेनानीको रुपमा रहेका अग्रज पुस्ताको सम्मान गर्दै नयाँ पुस्ता अबको युगको नेतृत्व लिन तयार हुनुपर्ने उनले स्पष्ट गरे । ‘पुरानो पुस्ताको बलिदानका कारण राजनीतिक व्यवस्था बदलियो’– मन्त्री शर्माले भनिन्– ‘अब बदलिएको राजनीतिक व्यवस्थाको फराकिलो धरातलमा टेकेर नयाँ पुस्ताले जनताको अवस्था बदल्ने अभियानको नेतृत्व लिनुपर्छ ।’

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान सुरु गरिसकेको जानकारी दिंदै उहाँले यो अभियानलाई पूरा गर्ने मुख्य अभिभारा नयाँ पुस्ताको काँधमा रहेको बताइन् । वर्तमान सरकार गठन भएपछि ठूलाठूला अनियमिताका फाइल खुलिरहेको चर्चा गर्दै मन्त्री शर्माले भने– ‘कतिपयले अहिले किन धेरै काण्डहरु सार्वजनिक भइरहेका छन् भनेर पनि प्रश्न गर्ने गरेका छन् । यी काण्डका आजका होइन, वर्षौदेखि थुप्रिएका अनियमिताका फाइल खोज्ने सरकारको पहलकदमीको परिणाम नै यी काण्डहरु सार्वजनिक भइरहेका छन् ।’

विगतका राजतन्त्रकालमा कानुन सानाका लागि मात्रै भएको र शासकहरुले जे गरे पनि छुट हुने अवस्था रहेको स्मरण गराउँदै उहाँले अब गणतन्त्रमा सबै बराबर हुने भएकाले पनि उच्च पदस्थहरुमाथि धमाधम कानुन आकर्षित भइरहेको बएन् । ‘गणतन्त्रले स्थापित गरेको महत्वपूर्ण भाष्य भनेको गणतन्त्रमा गल्ती गर्ने छुट हुँदैन भन्ने नै हो’– उनले थपिन्– ‘गल्ती गरे जोकोही पनि सजायको भागिदार हुनुपर्छ, यही नै गणतन्त्रको सार हो ।’