फन रन चैतको पहिलो साता



काठमाडौं ।

फन रन पाँच किलोमीटर दौड चैतको पहिलो साता हुने भएको छ । हायर ग्राउन्ड नेपालको आयोजनमा ५ किलोमिटर फन रन कार्यक्रम चैत ३ गते हुने भएको हो । तीन वर्षपछि हुन लागेको यो कार्यक्रम बिहान ७ बजे देखि जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा एक हजार पाँच सयभन्दा बढी सहभागी हुने आयोजकको अनुमान छ ।

प्रतियोगितामा सहभागिताका लागि इच्छुक हुनेले ५ सय रुपैयाँ तिरेर नाम दर्ता गराउन सकिने आयोजकले बताएको छ । कार्यक्रमले नेपाली महिलाहरुको सशक्तिकरणमा टेवा पुर्‍याउनुका साथै विभिन्न विपन्न वर्गका व्यक्तिहरूको सहयोगको निम्ति कोष खडा गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा दौडबाहेक विभिन्न रमाइला कार्यक्रम जस्तै एलिगेन्ट जुम्बा जोनद्वारा सञ्चालित जुम्बा डान्स, बालबालिकाहरू खेल्ने ठाउँ, फेस पेन्टिङ लगायत महिला उद्यमीद्वारा सञ्चालित स्टलहरू हुनुका साथसाथै ब्लाइन्ड रक्स संस्थाद्वारा सांगीतिक कन्सर्ट पनि हुनेछ । प्रत्येक सहभागीलाई टी-शर्ट, सहभागीता पदकका साथसाथै खाजा पनि उपलब्ध गराइनेछ ।

सन् २०१५ देखि वार्षिक रूपमा हुन कार्यक्रमको गुडविल एम्बासेडर नेपालका प्रसिद्ध धाविका रशिला तामाङ छिन् । सन् २०१५ मा फन रनमार्फत दौड यात्रा सुरु गरेकी रशिला सन् २०२३ मा एसिया ट्रेल मास्टर जित्ने पहिलो नेपाली खेलाडी हुन् । कार्यक्रमको मुख्य प्रायोजक हायर ग्राउन्ड नेपाल रहेको छ भने अन्य प्रायोजकमा शेरा, डिएचएल, फेदरवेब्स, रामखामहेङ एडभेन्ट इन्टरनेशनल स्कुल थाइल्यान्ड, मानबहादुर श्रेष्ठ मेमोरियल फाउन्डेशन र पार्क एभिन्यु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्