अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ


काठमाडौं । 
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने ३० वर्षीय सनतराज बोगटीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी पोष्ट लाटिकोइलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ रामजानकी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु।प।प्र।०१-००९ प २१९९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ७२ मिलिग्रामसहित  कृष्णपुर नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरीले सु।प।प्र।०२-००३ प ५१३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर ६७ मिलिग्रामसहित सोही नगरपालिका-१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गडडाचौकी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय सनम कुमार बुढा र सोही उपमहानगरपालिका-१४ जनचेतना टोल बस्ने ३२ वर्षीय बिजय कुमार बुढा रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले सनमको घरको तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
सर्लाही, बागमती नगरपालिका-१२ बाट अवैध लागूऔषध गाँजा ५ केजी २ सय १० ग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय निशान घिसिङ समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले प्रदेश २-०४-००१ प ९५६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै मोटरसाइकलमा सवार हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको छ । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न सिन्धुली हरिहरपुरगढी गाउँपालिका-४ बस्ने १९ वर्षीय रूपेश लामालाई बागमती नगरपालिका-११ पुतली चोकबाट प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सर्लाही, हरीवन नगरपालिका-१० बस्ने ५३ वर्षीया फुलमायाँ घिसिङलाई अवैध लागूऔषध गाँजा करिब ३ सय ३५ ग्राम र नगद ३ लाख ७९ हजार ३ सय २५ रूपैयाँसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको किराना पसलको तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार फुलमायाँका श्रीमान्‌को प्रहरीले खोजी गरिरहेको छ ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ गणपतेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, नुर्फिन ४ एम्पुल, फेनारगन ४ एम्पुल र नगद १ लाख ४० हजार ५ सय रूपैयाँसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय राजकुमार सेन र सोही नगरपालिका-४ बस्ने २८ वर्षीय आशिष राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-२ सुनखरी बस्ने ३३ वर्षीय प्रविन तामाङ र ४५ वर्षीया कलमा तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-९ बस्ने २८ वर्षीय डिक बहादुर कार्की र मोरङ मधुमल्ला तोरीवारी बस्ने २२ वर्षीया नाईरा भन्ने कोशिस तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र।१-०२-०४१ प १०३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु ३ किलोसहित सर्लाही गोरहिता नगरपालिका-६ बस्ने ३८ वर्षीय दिनेश बैठालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बा।प्र ०३-००६ ख ५३४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो  ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।