एमाले रामेछापको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

98
Shares

काठमाडौंं ।

नेकपा एमाले रामेछापले शनिबारबाट जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । तीन दिने सो प्रशिक्षण कार्यक्रमको नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो । तीन दिनसम्म चल्ने सो तामिलमा जिल्लाका ६० जना नेता–कार्यकर्ताको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टीको वैचारिक कामलाई व्यवस्थित बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पार्टी भित्र वैचारिक र राजनीतिक कामलाई प्राथमिकता दिन छाडिएकोले वैचारिक रूपमा पार्टी कमजोर भएको महसुस गरेर पार्टीले देश भरी प्रशिक्षण कार्यक्रम सुरु गरेको उहाँले बताउनुभयो । सोही कार्यक्रम अन्तर्गत रामेछापमा पनि प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको श्रेष्ठले जानकारी दिनुभयो । तालिमले नेता कार्यकर्तामा वैचारिक र सैद्धान्तिक भोक जगाउने काम गर्ने उहाँले विश्वास लिनुभयो ।

प्रशिक्षकहरू तयार भएपछि वडा र टोलसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन हुने श्रेष्ठले जानकारी दिनुभयो । यसले एमाले विरुद्ध लगाइएका आरोपको खण्डन गर्ने र वैचारिक रूपले सबल कार्यकर्ता पङ्ती तयार हुने उहाँले बताउनुभयो । हामीले हाम्रो अध्ययनको दायरा बढाउन आवश्यक छ, सकारात्मक आलोचनाको क्षमता बढाउन जरुरी छ’, उहाँले भन्नुभयो ।

नेकपा एमाले रामेछाप स्कुल विभाग प्रमुख प्रकाशकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, पार्टी पोलिटब्युरो सदस्य ईश्वरी रिजाल, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य गणेश पहाडी, प्रदेश कमिटीका नेताहरू लगायतको सहभागिता रहेको छ ।

तीन दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रममा विभिन्न १३ वटा विषयमा प्रशिक्षण दिइने पार्टी स्कुल विभागले जनाएको छ । जिल्ला स्तरको प्रशिक्षण सकिएपछि जिल्लाको आठवटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने विभागका प्रमुख प्रकाश कार्कीले जानकारी दिनुभयो ।