नेपालमा चलिरहेका टिकटक बन्द नगरे कारबाही गर्ने प्राधिकरणको चेतावनी

364
Shares

काठमाडौं ।

नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट अझै टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ। सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो।

प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन भनेको हो।

सूचनामा भनिएको छ,‘सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी भएकोमा केही सेवा प्रदायक कम्पनीहरुको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेकोरटिकटक चलिरहेको पाईएकोले त्यस्ता सेवा प्रदायकहरुलाई प्राधिकरणबाट स्पष्टिकरण सोधिएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही प्रक्रिया अघि बढीसकेको हुँदा इन्टरनेट सेवा प्रदान गर्ने अन्य सेवा प्रदायक कम्पनीहरुलाई समेत प्राधिकरणको निर्देशन पालना गर्न र निर्देशन पालना नगरेको पाईएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईएको छ।’