बालिका जबरजस्ती करणीको दुई घटनामा मुख्य कसुरदारलाई कैद, सहयोगीलाई समेत कैद र जरिवाना

1.4k
Shares

धादिङ । 

बालिका जबरजस्ती करणीका दुई घटनामा कसुरदारहरुलाई कैद र सहयोगीलाई समेत कैद र जरिवाना गरिएको छ ।
११ वर्षीया बालिका जबरजस्ती करणी गल्छी गाउँपालिका– ६ का २९ वर्षीय रबि ढुंगानालाई १९ वर्ष कैद सजाय र ७ लाख जरिवाना गर्ने फैसला जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले गरेको छ ।

 घरमा काम गर्न राखेको भनिएकी बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको र अन्तिम पटक ०७९ मंसिर ४ गते जबरजस्ती करणी  गरेको ठहर पछि मुख्य कसुरदारलाई कैद र जरिवानासँगै सहयोगी मुख्य कसुरदारका श्रीमती रबिना भुजेल ढुंगानालाई ६ महिना कैद र ८० हजार जरिवानाको फैसला गरेको श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

०७९ पुस १ गतेदेखि थुनामा रहेकी भुजेल ढुंगाना अदालतले ६ महिना कैद सुनाउँदा  ८ महिना १० दिन बढी समय थुनामा बसिसकेकी छन्  । यसबारे भने फैसलामा केही भनिएको छैन ।

आरोपितबाट असुल गरिएको जरिवानाबाट पीडितलाई ३ लाख क्षतिपूर्ति दिने फैसलामा उल्लेख छ ।

मुख्य आरोपित ढुंगानालाई ०७९ मंसिर २७ गते प्रहरीले गिरफ्तार गर्‍यो ।  परिवारलाई बताएपछि पीडित परिवारले मंसिर २६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो

यसैगरी  गजुरी गाउँपालिका वडा नम्बर ७ का ६२ वर्षीय कृष्णबहादुर मोक्तानलाई १२ वर्षिया बालिका जबरजस्ती करणी  गरेको ठहर गर्दै जिल्ला अदालतले १८ वर्ष कैद गर्ने फैसला गरेको छ ।

जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले ०८० माघ २९ गते कसुर कायम गर्नुभएको थियो भने फागुन १० गते कसुरदारलाई मुलुकी अपराध संहिता २०७४ को २१९ को ३ ९ख० बमोजिम १८ वर्ष कैद गर्दै ६ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार भण्डारीले जानकारी दिए ।

जिल्ला अदालतको फैसला बमोजिम कसुरदारबाट असुल गरिएको जरिवानाबाट पीडितलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने उल्लेख छ ।

बालिकालाई ०७८ साउन ३ गते जबरजस्ती करणी  गरेको आरोपमा पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएकोमा ०७८ साउन २९ गते जिल्ला अदालतमा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता भएको थियो । १० पटकको पेसी पछि मुद्दा फैसला भएको छ ।
आरोपितलाई प्रहरीले साउन ४ गते गिरफ्तार गरेको थियो ।