गोर्खाली रग्बीको लगातार दोस्रो जित



काठमाडौं ।

काठमाडौंमा जारी फिफ्टिन्स रग्बी लिगमा गोर्खाली रग्बी क्लबले लगातार दोस्रो जित निकालेको छ। बुधबार दशरथ रङ्गशालामा लिग चरणको दोस्रो खेलमा गोर्खाली रग्बीले एपीएफ क्लबलाई पराजित गर्‍यो।

गोर्खाली रग्बी एपीएफलाई ४९–२० ले हराउँदै ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एपीएफ ४ अङ्कसहित तेस्रो स्थानमा झरेको छ।दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्‍यो।

आर्मीले प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा पुलिसलाई ५३–७ ले पन्छाएको थियो । जितसँगै आर्मी ४ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ। एपीएफसँग समान अङ्क भएपनि आर्मी स्कोरका आधारमा दोस्रो स्थानमा रह्यो । पुलिस भने २ अङ्क सहित चौथो यानि पुछारमा छ ।

प्रतियोगिता विजेता टिमले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ५० हजार रुपैयाँ हात पार्नेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरेर राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्बी सङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्