श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या

16.2k
Shares

काठमाडौं ।

श्रीमती र दुई छोरीको हत्यापछि आफूले पनि झुन्डिएर आत्महत्या गरेका राजु घिमिरे भन्ने काजी विकका बारेमा प्रहरीले अनुसन्धान शुरू गरेको छ।

सीतापाइलास्थित भाडाको घरमा बस्दै आएका विकले श्रीमती ईश्वरी श्रेष्ठ, छोरी अनिसा र नातिनी शिवानीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

राजधानीमा घर बनाउने काम गर्दै आएका विक र श्रीमती ईश्वरीबीच बेलाबेलामा मनमुटाब हुने गरेको भए पनि हत्या नै गर्नुपर्ने अवस्था भने नरहेको स्थानीयले बताएका छन् । ईश्वरी र विकबीच अन्तरजातीय विवाह भए पनि दुवै जनाले दोस्रो विवाह गरेको बताइएको छ।

पारिवारिक कलहका कारण ईश्वरीको हत्यापछि छोरी र ईश्वरीको पहिलाका श्रीमान्बाट जन्मिएको छोराको छोरी अनिसाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

विकले श्रीमती ईश्वरीलाई प्रायःजसो शंकाको नजरले हेर्ने गरेका कारण उक्त घटना भएको आशंका प्रहरीले गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पारिवारिक कलहका कारण नै उक्त घटना भएको देखिन्छ। मर्ने र मार्ने दुवै पक्ष नभएकाले यसै भएको भन्न सकिने अवस्था नरहेको बताउँदै एसपी श्रेष्ठले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउनुभयो।

श्रीमती, छोरी र नातिनीको हत्या गरेपछि ईश्वरीको माइती पक्षलाई जानकारी गराएका विकले आफूले आत्महत्या गर्न लागेको जानकारी गराएका थिए। घरभन्दा ३ किलोमिटर पर रहेको जंगलमा पुगेका विकले डोरीको पासो लगाएर आत्महत्या गरेका थिए।

श्रीमतीप्रति शंका राख्दै आएका विककी श्रीमती ईश्वरीले दुई महिनाअघि एक पुरुषले आफूलाई जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि ती पुरुषलाई प्रहरीले पक्राउ गरी बलात्कार मुद्दामा कारबाही अघि बढाएको थियो।

प्रहरीले अनुसन्धान पूरा गरी उक्त मुद्दा अदालतमा बुझाएकोमा अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। ती आरोपित मंगलबार कारागारबाट रिहा भएका थिए।

आरोपित कारागारबाट रिहा भएको भोलिपल्टै विकले श्रीमती, छोरी र नातिनीको हत्यापछि आफूले पनि आत्महत्या गर्नुले घटना रहस्यमय बन्दै गएको उक्त घटनाको अनुसन्धान गरिहेका एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

आफूपट्टिबाट जन्मिएको छोरा अनिसलाई बाहिर पठाएर श्रीमती, छोरी र नातिनीको हत्या गरेपछि पसल गएका अनिसलाई उक्त हत्याको फोटो खिच्न लगाएर आफू घरबाट निस्किएर जंगलमा गएर आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ।

ईश्वरीको पहिलो श्रीमान्बाट जन्मिएका छोरा अनिल रोजगारीका लागि अहिले साउदी अरबमा रहेको पनि प्रहरीले जानकार दिएको छ।

ईश्वरीले विकसँग विवाह गरेपछि पनि एक युवकसँग अहिले पनि सम्पर्कमा रहेको भन्दै आफन्त तथा साथीभाइसँग गुनासो गर्ने गरेको पनि प्रहरीले अनुसन्धानको क्रममा पत्ता लगाएको थियो।

उनले चितवन घर भएर काठमाडौं बस्दै आएका ती युवकलाई पटकपटक आक्रमणको प्रयास गरेको भए पनि सफल भएको थिएन। श्रीमतीलाई पटकपटक सम्झाउँदा पनि नमानेपछि हत्याको योजना बनाएका विकले आफ्नो उद्देश्य पूरा भएपछि आफूले पनि आत्महत्या गरेको पाइएको एक प्रहरी अधिकृतले नेपाल समाचारपत्रसँग भने।