कैलालीको भाँसुभीर नजिकै विस्फोट, २ जना घाइते

3.8k
Shares

धनगढी ।

कैलालीको चुरेस्थित भाँसुभीर नजिकै विस्फोटक पदार्थ विस्फोट भएको छ। आज (बुधबार) जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा विस्फोट भएको हो।

जेसिबीले भीमदत्त राजमार्ग अन्तर्गत सडक-बाटो मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी)पदमबहादुर बिष्टले जानकारी दिए। उनका अनुसार सो विस्फोटक पदार्थ माओवादी काल (जनयुद्ध)को हुनसक्ने अनुमान गरिएको छ।

उक्त विस्फोटबाट एकजना चालकसहित ४ जना घाइते भएका छन्। उनीहरूमध्ये २ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा जेसिबी चालकसहित कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेका छन्। चालकबाहेक घाइते ३ जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ। उता प्रहरीले घटनास्थलको जाँचबुझ र थप अनुसन्धान गरिरहेको जनाएको छ।