राष्ट्रिय हितको प्रवर्द्धन हुने गरी काम गर्न प्रधान सेनापति शर्माकाे निर्देशन

280
Shares

काठमाडौं ।

प्रधान सेनापति प्रभुराम शर्माले परम्परागत सुरक्षा चुनौतीहरूसँगै मानव सुरक्षामा देखा पर्दै आएका नवीन चुनौतीहरूलाई पहिचान एवं विश्लेषण गरेर तिनीहरूलाई सामना गर्ने उपायहरूको पहिचान एवं अद्यावधिक गर्दै लैजाने क्षमता विकसित गर्नु जरुरी रहेको कुरा बताएका छन्  ।

सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको सि.सं.३० कमान्ड तथा स्टाफ तालिमका सहभागी शिक्षार्थीहरूलाई सम्बोधन गर्दै प्रधान सेनापतिले जलवायु परिवर्तन, बसाइसराइ, खाद्य तथा ऊर्जा सुरक्षा, विभिन्न किसिमका अतिवादी विचारधाराहरूसँग जोडिएका गतिविधि, मानव स्वास्थ्यसँग सम्बन्धित जटिलताहरू, सूचना प्रविधिको दुरुपयोग आदिका कारण सृजित हुने चुनौतीहरूसँगै शस्त्रास्त्रको होडबाजीको पुनरावृत्तिले विश्वभर सुरक्षा चुनौतीको रूप ग्रहण गर्दै आइरहेकोले रणनीतिक तथा सुरक्षा अध्ययनका विद्यार्थीहरूले सोही अनुरूपको तयारीपन र प्रतिकार्य क्षमता विकसित गर्ने योजनाहरूको तर्जुमा गर्न सक्नुपर्ने  बताएका छन्  ।

उनले विभिन्न मुलुकका सैनिक अधिकृतहरू एवं सुरक्षासँग सम्बन्धित अन्य निकायका अधिकृतहरू एकसाथ जम्मा भई राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण सहित गरिने छलफल र अनुभवको आदानप्रदानसहितको अध्ययनले सामूहिक चासो तथा चिन्ताका विषयहरूमा साझा धारणा विकसित गर्न र विद्यमान समस्याहरूको समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्  ।

प्रधान सेनापतिले तालिममा सहभागी नेपाली सैनिक अधिकृतहरूलाई नेपाली सेनाका पछिल्ला पहलताहरू र प्रमुख गतिविधिहरूको बारेमा जानकारी गराउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रिय हितहरूको प्रवर्द्धन हुने ढङ्गले काम गर्न निर्देशन दिए । व्यक्तिगत फाइदाका लागि संस्थाको हित प्रतिकूल गतिविधि गर्नेले उचित समयमा उचित ढङ्गले दण्डित हुनुपर्ने कुरा बताउँदै प्रधान सेनापतिले संस्थाको Chain of Command बलम भित्रै सबै खाले समस्याको समाधान मिल्ने बारे प्रस्ट रहन अधिकृतहरूलाई सुझाव दिए ।

प्रविधिको दुरुपयोग, सवारी दुर्घटना, आत्महत्या सम्बन्धी सोच र प्रयास पछिल्ला दिनमा देखिएका चिन्ताजनक विषय भएकोले यस्ता कुराहरू रोक्न सबैले सजगता एवं सतर्कता अपनाउन जरुरी भएको बताउँदै  सेनापति शर्माले प्रचलित ऐन, नियम, कार्यविधिहरूको परिधिभित्र रहेर मातहतका सकल दर्जाको विश्वास जित्दै संस्था र देश हितमा समर्पित हुनेहरूले सदैव सफलता एवं प्रसन्नता हासिल गर्ने कुरा बताए ।

 ३० कमान्ड तथा स्टाफ तालिममा नाइजेरिया, केन्या, मालदिभ्स, भारत, पाकिस्तान र दक्षिण कोरियाका एक एक जना सहित ६ जना (महिला एक जना) विदेशी शिक्षार्थी अधिकृतहरू सहभागी छन् । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका एक एक जना र नेपाली सेनाका ५३ जना समेत कुल ६२ जना (महिला दुई जना) शिक्षार्थीहरू तालिमरत छन् ।

 जङ्गी अड्डामा आज (बुधबार) आयोजित प्रधान सेनापतिको सम्बोधन कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल उपस्थित हुनुहुन्थ्यो । यस्तै रथी वृन्द, कमान्ड तथा स्टाफ कलेजका प्रशिक्षक लगायत अधिकृतहरूको पनि उपस्थिति रहेकाे थियाे  ।