कपिलवस्तुका आठजना वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

2.1k
Shares

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमति लिएको भन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको अभियोगमा कपिलवस्तुका आठजना वन अधिकृतसहित १९ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कपिलवस्तुस्थित गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले ठेकेदारसँगको मिलेमतोमा ३७ हजार क्युफिट काठको २९ लाख १२ हजार एक सय ९३ रुपियाँ ६५ पैसा हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिनुभयो ।

समितका तत्कालीन अध्यक्ष एवं संयोजक तथा हाल लुम्बिनी प्रदेश, निर्वाचन क्षेत्र नं ३ (२) कपिलवस्तुका प्रदेशसभा सदस्य जानकी यादव समेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

त्यसै गरी तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल बल अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्था समितिको कार्यान्वयन ईकाइका संयोजक एवं वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रह्मदेव महतो, रेन्जर हेमराज पण्डितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगका प्रवक्ता घिमिरेका अनुसार तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत टोलकराज चापागाइँ, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारू, सहायक वन अधिकृत नागेन्द्रप्रसादसिंह राजपुत, फरेस्टरहरू रामरक्षा कुर्मी (चौधरी), रमतु चौधरी, वन रक्षकहरू सञ्जय थारू, सञ्जय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया, गोरखा काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काठ दाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गीता जिसीविरुद्ध मुद्दा दायर गरिएको छ ।

गौतमबुद्ध साझेदारी वनमा ६ वटा कटान प्लटहरूको ३७ हजार क्युफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरूसँग मिलेमतो गरी बिक्री गरेको अभियोग उनीहरूमाथि छ।

समितिले आ.व.०७४/०७५ मा विभिन्न ६ वटा कटान प्लटहरूमा विभिन्न जातका ८ सय ३ वटा रूखहरू काट्दा त्यसबाट निस्किएको ३५ हजार ७ सय ७८ दशमलव १० क्युफिट काठ ४९ दशमलव २३ क्विन्टल चट्टा दाउरा संकलन हुनुपर्नेमा नाप जाँच मूल्यांकन परिमाणभन्दा कम परिमाणमा काठ उत्पादन संकलन भएको देखाएर अनियमितता गरेको अभियोगपत्रमा भनिएको छ।

६ वटा प्लटमध्ये चारवटा प्लटबाट ९ लाख ३९ हजार एक सय ३५ रुपियाँ ४० पैसा बराबरको वन पैदावार र दुई वटा कटान प्लटबाट १९ लाख ७३ हजार ८५ रुपियाँ २५ पैसा बराबरको वन पैदावार हिनामिना र हानी नोक्सानी गरेको आयोगका प्रवक्ता घिमिरेले बताउनुभयो ।

आयोगका अनुसार गोरखा मनकामना काष्ठ फर्निचर उद्योग काठमाडौंले संकलन उत्पादन गर्न ठेक्का लिएको काठ–दाउरा, फाएरलाइन–१, ढलापडा प्लट र फाएरलाइन–२ को गरी चारवटै प्लटको जम्मा ९ लाख ३९ हजार १ सय ३५ रुपियाँ ४० पैसा मूल्य बराबरको वन पैदावार हिनामिना भएको थियो ।

फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र ए आर काष्ठ दाउरा खरिद बिक्री सेन्टरका प्रोपाइटर गीता जिसीलाई भने क्रमशः ९ लाख ३९ हजार एक सय ३५ रुपियाँ ४ पैसा र १९ लाख ७३ हजार ५८ रुपियाँ २५ पैसा बिगो जरिवानाको मागदाबी गरेको छ।

बाँकी सबैको हकमा २९ लाख १२ हजार एक सय ९३ रुपियाँ ६५ पैसा बिगो कायम गरी कैदसजायको मागदाबी गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।