निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँः प्रमुख आयुक्त थपलिया

84
Shares

काठमाडौं ।

‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ।

विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले आज दिवस मनाएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिवसका अवसरमा देश तथा विदेशमा रहका सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आम मतदातामा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापमा सरिक हुन दिवसले सदैव जागरूकता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गर्न आग्रह गरे।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’को मूलमन्त्रलाई आत्मसात् गर्दै आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ।

वर्तमान संविधान जारी भएपछि सम्पन्न दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवं राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार चार सय जनप्रतिनिधि निर्वाचित भएका आयोगले जनाएको छ।

आवधिक निर्वाचनद्वारा बालिग मताधिकारको प्रयोग, निर्वाचन प्रणालीको क्रियाशीलता तथा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा उल्लेख्य भूमिका निर्वाह भएको छ।

निर्वाचनका माध्यमबाट नेपाली मतदाताले गोप्य मतदानद्वारा आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता छ।

वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वःनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्नको खाँचो रहेको उनको भनाइ छ।

राजनीतिक दल, आम मतदाता तथा सरोकारवालासँग यस विषयमा निरन्तर संवाद र अन्तरक्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आयोग संवेदनशील रहेको आयोगको भनाइ छ।

विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचन ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी’ हुँदै आएको आयोगको दाबी छ।

आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी सुधारको पहल, निर्वाचनका क्रियाकलापमा नागरिकको पहुँच अभिवृद्धि, राजनीतिक दलको दर्ता र नियमनमा सुधार भइरहेको आयोगले उल्लेख गरेको छ।

यसैबीच, आयोगले निर्वाचन दिवसका अवसरमा वर्षेभरमा उत्कृष्ट कार्य सम्पादन गर्ने १२ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा आयोगका पाँच र मातहतका प्रदेश र जिल्लाका सात जना कर्मचारी रहेका छन् ।