कामपाभित्रका अस्पतालको फोहोर व्यवस्थापनमा समस्या



काठमाडौं ।

काठमाडौं महानगरभित्र सञ्चालन भएका अस्पतालले व्यवस्थापन गर्ने अस्पतालजन्य फोहोरको अवस्थाबारे कामपाले विषयमा दैनिक अनुगमन जारी राखेको छ।

कामपाका उपमेयर सुनिता डंगोल नेतृत्वको टोलीले यो महिनायता महानगरक्षेत्रका ठूला र साना गरी १० वटा अस्पतालको अनुगमन गरेको छ । महानगरभित्र १२ सरकारी र ४५ निजी अस्पताल रहेको कामपाले जनाएको छ।

उपमेयर डंगोल, कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठ र महानगरको वातावरण व्यवस्थापन विभागको टोलीले अनुगमनलाई तीव्रता दिएको हो। अनुगमनका क्रममा सबै अस्पतालले फोहोर वर्गीकरण गरे पनि व्यवस्थापन गर्दा एकै स्थानमा राखिएको फेला परेको छ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले प्रायः सबै अस्पतालले फोहोर व्यवस्थापन गर्दा एउटै पोको पारेको फेला परेको जानकारी दिँदै भन्नुभयो– ‘फोहोर व्यवस्थित देखिए पनि कतिपय अस्पतालमा जथाभावी गरेको पाइयो।’

अनुगमनको क्रममा वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको पाइएको छ।

जसमध्ये संक्रमणजन्य फोहोर ८ हजार १ सय ५३ केजी, सुई बिनाको सिरिन्ज ६ सय ३९ केजी, तिखो सिसा १ सय २० केजी, धारिलो तथा तीखो धातु १ सय ४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १ सय ४४ केजी, कागज २ हजार २ सय २३ केजी, प्लास्टिक र प्लास्टिकजन्य बोतल ७ हजार ७ सय २ केजी, नफुटेका सिसा १ हजार ४ सय ४० केजी छ। वीर अस्पतालबाट उत्पादन हुने फोहोरमध्ये ५ हजार ३६ किलो कुहिने फोहोर छ ।

त्यसै गरी ट्रमा सेन्टरमा मासिक ९ हजार किलो फोहोर उत्पादन हुन्छ । जसमा संक्रमित फोहोर २ हजार ४ सय केजी छ । बाँकी जैविक फोहोर हो।

प्रसूति गृहमा दैनिक ४ सय किलोग्राम फोहोर उत्पादन हुने गरेको छ। जसमध्ये १ सय ४६ किलोग्राम पुनः प्रयोग गर्न मिल्ने खालको र २ सय ५९ किलोग्राम निष्कासन गर्ने खालको हुने गरेको छ।

अस्पतालजन्य फोहोर व्यवस्थापनका इन्चार्ज भवानी खड्काका अनुसार उक्त अस्पतालमा दैनिक ३५ देखि ४० किलोग्रामसम्म सालनाल आउँछ। यसबाट बायोग्याँस उत्पादन गरिएको छ।

उहाँले गत मंसिर महिनामा ५ हजार ४ सय किलोग्राम फोहोर बिक्री योग्य रहेको जानकारी दिनुभयो। विभागका वरिष्ठ इन्जिनियर निशा कोइरालाका अनुसार सरुवा रोग अस्पतालमा अहिले बिरामीको संख्या न्यून भएकोले फोहोर उत्पादनको मात्रा पनि कम छ।

अस्पतालहरूले संक्रमित फोहोरलाई सामान्य बनाउन थालेको प्रयास सन्तोषजनक देखिएको कामपाले जनाएको छ। अनुगमन टोलीले सानातिना त्रुटि र छुटेका प्रक्रियालाई सुधार गरेर आफ्नो प्रयासलाई उत्कृष्ट र नमूना बनाउन अस्पताललाई सुझाव दिएको छ।

कामपाले हालसम्म महाराजगञ्जको कान्ति बाल अस्पताल, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, थापाथलीको ब्लुक्रस, नर्भिक र प्रसूतिगृह र महाबौद्धको ट्रमा सेन्टर र वीर अस्पतालको अनुगमन सम्पन्न गरेको छ।

सोमबारसम्ममा अन्नपूर्ण न्युरोलोजिल इन्टिच्युट, माइतीघर, बल्खुको बयोधा र राजधानीका साथै नेपाल पुलिस अस्पताल महारागञ्ज अस्पतालको अनुगमन गर्ने भएको छ।

हिजो आइतबार महांकालस्थित त्रिचन्द्र मिलिटरी अस्पताल पुगेको अनुगमन टोलीलाई नेपाली सेनाबाट स्वीकृत भएपछि मात्र अनुगमन गर्न दिने भन्दै फर्काइएको थियो। विभाग प्रमुख श्रेष्ठले सो अस्पतालमा यो साताभित्र अनुगमन गरिसक्ने जानकारी दिनुभयो।

अनुगमन भएका अधिकांश अस्पताललाई स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन सुझाव दिइएको थियो।

अनुगमनका क्रममा उपमेयर डंगोलले स्वास्थ्य संस्थाहरूलाई जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिअनुसार नै आधारभूत मापदण्ड पूरा गर्न निर्देशन दिनुभयो।

उहाँले अस्पतालले विविधतालाई एउटै बनाउन तोकिएको रङ्गका बाल्टिन राखेर स्रोतबाटै फोहोरलाई वर्गीकरण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘जोखिमयुक्त फोहोरलाई निर्मलीकरण गरिसकेपछि फेरि वर्गीकरण गर्नुपर्छ । यसमा सबैले काम गर्नुपर्छ।’

नर्भिक अस्पतालका फोहोर व्यवस्थापन इन्चार्ज कृष्ण नेपालीले अस्पतालले व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गरेको जिकिर गर्दै अस्पतालले अस्पतालजन्य फोहोरलाई छुट्टाछुट्टै संकलन र ढुवानी गर्ने र अटोक्लेभमा राखेर निर्मलीकरण गर्ने गरेको बताउनुभयो।

अस्पतालले रातो बाल्टिन प्रयोग गर्नुपर्ने, ढल खुला बगेको छ भने त्यसलाई छोप्नुपर्ने, तरल फोहोर प्रशोधन गर्नुपर्ने, फोहोर बोक्ने ट्रली व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ।

ब्लुक्रस अस्पतालमा फरक फोहोर राख्न फरक बाल्टिन राखिएको तर, तोकिएको रङ्ग भएका बाल्टिनमा फोहोर नराखिएको अवस्था छ।

कामपाले पहिलो दिन अर्थात् फागुन १ गते कान्ति बाल अस्पतालमा अनुगमन गरेको थियो। सो अस्पतालमा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि कामपाले अस्पताललाई फोहोर उठाउन नसकिने जानकारी दिइएको थियो।

अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको भेटेपछि फोहोर व्यवस्थापन स्थगित भएको हो।

कामपा वातावरण विभाग प्रमुख श्रेष्ठले फरक प्रकृतिको फोहोर राख्न रङ्ग संकेतको पालना नभएको कारण हानिकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाएको जानकारी दिनुभयो।

कहिले कहाँ
फागुन– १ कान्ति बाल अस्पताल, महाराजगञ्ज, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल, महाराजगञ्ज
फागुन–२ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, ब्लु क्रस अस्पताल, टेकु
फागुन–३ नर्भिक अस्पताल, थापाथली, प्रसूतिगृह अस्पताल, थापाथली
फागुन–४ ट्रमा अस्पताल, महाबौद्ध, वीर अस्पताल, महाबौद्ध
फागुन–६ त्रिचन्द्र मिलिटरी अस्पताल, महांकाल, अन्नपूर्ण न्युरोलोजिल इन्स्टिच्युट, माइतीघर
फागुन–७ बयोधा अस्पताल, बल्खु, राजधानी अस्पताल, बल्खु
फागुन–८ नेपाल पुलिस अस्पताल, महाराजगञ्ज

प्रतिक्रिया दिनुहोस्