प्रधानमन्त्रीले देखाउन लायकको काम गरेका छैन्न : केपी ओली


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले एउटा पनि देखिने काम गर्न नसकेको बताएका छन् ।

आइतबार नेकपा एमालेको कैलालीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार नालायक भएको बताएका हुन् । उनले सरकारले कुनै गतिलो काम नगरेको टिप्पणी गरेका थिए। ‘प्रधानमन्त्रीले एउटा पनि देखाउन लायकको काम गर्नुभएको छैन’, उनले भने । ओलीले यो सरकार निकम्मा भएकोले सरकारले केही काम गर्न नसक्ने दाबी गरे । ‘यो निकम्मा सरकार हो, यसले केही काम गर्न सक्दैन’, ओलीले भने ।

प्रधानमन्त्री प्रचण्डले पटक पटक सच्चिने कुरा गर्नुभएको भए पनि अब उनले सच्चिने सम्भावना नरहेको ओलीले बताए । ‘७० वर्ष पुग्न लाने, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने ?’ उनले प्रश्न गरे । ओलीले अहिले राष्ट्र निक्कै कमजोर अवस्थामा पुगेको बताए । देशमा कुशासन, अनियमितता र भ्रष्टाचार बढेको तथा राष्ट्रिय स्वाभिमान संकटमा परेको ओलीले टिप्पणी गरे ।

ओलीले आफू प्रधानमन्त्री हुँदा गरेका काम सरकारले रोकेको भन्दै आलोचना गरे । विकासका सबै काम सरकारले ठप्प पारेको उनले टिप्पणी गरे। सरकार विकासका सबै काम ठप्प बनाएर भ्रष्टाचार र तस्करीको काममा लागेको उनले बताए । ओलीले अधिवेशनबाट सक्षम र योग्य नेतृत्व चयन गर्न निर्देशन दिए । उनले अधिवेशनको क्रममा कुनै पनि गुटबन्दी नगर्न पनि आग्रह गरे।