राष्ट्रपति पौडेलले गरे शालीनदीमा पूजा

752
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गरेका छन्।

पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा राष्ट्रपति पौडेल आज बिहान सहभागी भएका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे।

साथै उनले शालीनदीमा जल अभिषेक गरे। उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे।

नगरपालिका एवं काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए।

बज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङ्खरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए।