‘डा. ओम फाउन्डेसन’द्वारा सञ्चालित विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न

168
Shares

काठमाडौं ।

‘डा. ओम फाउन्डेसन’द्वारा विद्यालयस्तरमा धूम्रपान तथा सुर्ती सेवनविरुद्ध सञ्चालित सचेतना मूलक अभियान ‘स्कुल हेल्थ प्रोग्राम’को रचनात्मक कार्यक्रम सम्पन्न भएको छ।

सरस्वती पूजा तथा प्रणय दिवसको सन्दर्भ पारेर फाउन्डेसनले विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको थियो।

तीनवटै विधाका प्रतियोगिताको अन्तिम परिणाम शनिबार प्रकाशित भएसँगै रचनात्मक क्रियाकलाप सम्पन्न भएको हो। रचनात्मक कार्यक्रमअन्तर्गतको कविता विधामा पाँच जना विद्यार्थी विजयी भएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका अनुसार कविता प्रतियोगिताका विजेताहरूमा क्लिन्टन स्कुल चाबहिल काठमाडौंको कक्षा ६ की छात्रा सिद्धिका शाह, कोशी सेन्ट जेम्स आवासीय मा.वि. इटहरी कक्षा ७ की छात्रा पूर्णिमा गौतम, सेन्ट मेरिज उच्च मा.वि. ललितपुर कक्षा  ७ की छात्रा इभा पौडेल, जोन डेवी उच्च मा.वि. महाराजगन्ज कक्षा ९ की छात्रा शाश्रिका खत्री र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सी.सी.आर.सी) बालकुमारी कक्षा १२ की छात्रा चाँदनी पाल रहेका छन्।

धूम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देशमूलक कविता प्रतियोगितामा देशभरका विद्यालयका १२ कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए।

उत्कृष्ट रचनाकारलाई जनही १० हजार रुपियाँ नगद पुरस्कार, प्रमाणपत्र र मेडल केही समयपछि विशेष कार्यक्रम गरी प्रदान गरिने फाउन्डेसनले जनाएको छ।

त्यस्तै बाल चित्रकला प्रतियोगितामा दीप बोडिङ स्कुल बुटवल कक्षा ५ की छात्रा प्रिस्ति पुन र फिसटेल एकेडेमी सेकेन्डरी स्कुल पोखरा कक्षा ४ का छात्र डेभेश पहारी विजेता भएका छन्।

साथै उपविजेताहरूमा निस्ट स्कुल लोकन्थली, भक्तपुर कक्षा ४ की छात्रा पल्लबी भट्टराई, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसबारी, काठमाडौं कक्षा ६ की छात्रा जेसिका थापा, वेदिक स्कुल बालकोट, भक्तपुर कक्षा ६ की छात्रा समृद्धी श्रेष्ठ, सल्यान पब्लिक स्कुल शंखमुल, सल्यान कक्षा ६ की छात्रा एलिना बुढाथोकी, साउथ जोन सेकेन्डरी स्कुल वीरगन्ज कक्षा ६ का छात्रा अंकित साह र ओम शान्ति एकेडेमी भरतपुर, चितवनका कक्षा ८ का छात्र सलिन आचार्य रहेका छन्।

धूम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा पर्ने असर झल्काउने चित्रकला प्रतियोगितामा देशभरका कक्षा ८ सम्मका विद्यार्थीले भाग लिएका थिए । विजेता विद्यार्थीलाई जनही १० हजार रुपियाँ नगद पुरस्कार र उपविजेतालाई २ हजार ५ सय रुपियाँ तथा प्रमाण पत्र एवम् मेडलस्वरुप प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ।

यसै गरी धूम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा देशैभरका कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी भएका थिए।

सो प्रतियोगितामा काठमाडौं मोडल कलेज बागबजार, काठमाडौं प्रथम, सिद्धार्थ वनस्थली इन्स्टिच्युट काठमाडौं द्वितीय र तृतीयमा ज्ञान ज्योति मा.वि. वीरगन्ज तथा पञ्चोदय मा.वि.धनगढीका विद्यार्थी विजयी भएका छन्।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपियाँ नगद रहेको छ। तृतीय स्थानमा दुई वटा विद्यालयले समान अङ्क प्राप्त गरेका कारण पुरस्कार संयुक्त रूपमा प्रदान गरिने फाउन्डेसनले जनाएको छ। सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ। सबै विधाका प्रतियोगिता ‘भर्चुअल’ माध्यमबाट सञ्चालन गरिएको थियो।

फाउन्डेसनका संस्थापक वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धूम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते (१ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्म) सचेतनामूलक अभियान सञ्चालन गर्नुभएको थियो। सोही क्रममा ‘स्कुल हेल्थ प्रोग्राम’को रचनात्मक कार्यक्रम गरिएको फाउन्डेसनले जनाएको छ।

यसअघि सोही अभियानअन्तर्गत ‘धूम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन्’ र ‘मेरो एउटा सानो त्याग मायालुका लागि ठुलो उपहार’ भन्ने अभियान सम्पन्न भइसकेको छ।

उक्त अभियानमा धूम्रपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धता व्यक्त गर्न स्वदेश तथा विदेशमा हजारौँ नेपालीले सहभागिता जनाउँदै धूम्रपान तथा सुर्ती सेवन त्यागेको प्रतिबद्धता पत्र जनाएका छन्।

धूम्रपान तथा सुर्ती सेवनविरुद्धको सचेतनामूलक यस अभियानमा जनचेतनाको नयाँ अभ्यास गरिएको र त्यो सफल भएको फाउन्डेसनले जनाएको छ।