कमजोर गुणस्तर र विद्यार्थी संख्या कम भएका विद्यालय समायोजन गरिने

1.6k
Shares

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले शैक्षिक मापदण्ड नपुगेका, कमजोर गुणस्तर र विद्यार्थी सङ्ख्या पर्याप्त नभएका विद्यालय समायोजनमा लैजाने नगर प्रमुख कालुमान लामाले जानकारी दिनु भएको छ । मेयर लामाले शुक्रवार नगर शिक्षा समितिको बैठक पश्चात् छोटो प्रतिक्रिया दिँदै सो कुरा बताउनु भएको हो ।

वहाँले चौदण्डीगढी नगरपालिका नगर भित्रको शिक्षामा आमूल परिवर्तन गर्न लागि परेको भन्दै कुनै पनि बहानामा मापदण्ड नपुगेका, कमजोर गुणस्तर र विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको समायोजनको प्रक्रिया नरोकिने दाबी गर्नु भयो ।

शुक्रवार चौदण्डीगढी नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले समेत विविध विषयमा निर्णय गरेको वहाँले जानकारी दिनु भयो । शुक्रवार बसेको शिक्षा समितिको बैठकले नगर भित्रका सामुदायिक विद्यालयहरूमा भएको विषयगत दरबन्दी अभावको समस्या समाधान गरी शैक्षिक गुणस्तर अभिवृद्धिका निमित्त आगामी शैक्षिक सत्र देखि नगर भित्र अभिभावक सहयोग कार्यविधि निर्माण गरी “अभिभावक सहयोग“ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको बैठकले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूले जिल्ला भित्र वा बाहिर तालिम, सेमिनार तथा गोष्ठी जस्ता कार्यक्रममा सहभागिता जनाउन जाँदा चौदण्डीगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाबाट अनिवार्य रुपमा लिखित अनुमति लिनु पर्ने समेत निर्णय गरेको नगर शिक्षा शाखाका शिक्षा सुपरिवेक्षक पुष्पा तामाङले जानकारी दिनु भयो ।

चौदण्डीगढी नगरपालिका नगर शिक्षा शाखाले विविध किसिमको कामकाज गर्नका निम्ति विषय विज्ञ -रोष्टरमा शिक्षकहरूलाई सूचिकृत गरी सूचिकृत रोष्टरहरुको संयोजकत्वमा विभिन्न विषयगत समिति निर्माण गर्ने साथै उक्त समितिको समेत सहयोगमा स्थानीय पाठ्यक्रम विज्ञलाई आमन्त्रण गरी आगामी शैक्षिक सत्रबाट लागु गर्न सकिने गरी शिक्षा शाखाको प्रत्यक्ष संलग्नतामा स्थानीय पाठ्यक्रम निर्माण कार्य सुरु गर्ने समेत निर्णय भएको शिक्षा शाखा प्रमुख उपसचिव रामेश्वर कुँवरले जानकारी दिनु भयो ।

शुक्रवार बसेको शिक्षा शाखाको बैठकले चौदण्डीगढी नगरपालिकाका निजी विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब,अपाङ्ग, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशिताको आधारमा छात्रवृत्ति प्रदान गर्नु पर्ने निर्णय गरेको छ । उक्त छात्रवृत्तिको व्यवस्थापन तथा वितरण चौदण्डीगढी नगरपालिका नगर शिक्षा शाखाको मार्फत गर्ने समेत निर्णय भएको नगर शिक्षा शाखाले जनाएको छ ।