बालबालिकामा देखिने क्यान्सरको समयमै उपचार गरे निको हुन्छ 



काठमाडौं ।

विश्व बाल क्यान्सर दिवसको पूर्व सन्ध्यामा नेपाल क्यान्सर अस्पतालमा आयोजित मिडियासँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले क्यान्सर रोगका बारेमा  सचेतना जगाउन आवश्यक रहेको जानकारी गराइएको छ ।

बुधवार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरले आयोजनाको गरेको अन्तरक्रियामा चिकित्सकहरूले यस्तो बताएका हुन्।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ४ लाख र नेपालमा हरेक वर्ष १४ सय बालबालिकामा क्यान्सर हुने गरेको जनाएको छ।कार्यक्रममा अस्पतालकी पेडियाट्रिक हेमाटो(अंकोलोजिष्ट डा. अञ्जली पण्डितले संसारभर एक वर्षमा ४ लाख बालबालिकाहरूमा क्यान्सर देखिने बताउँदै नेपालमा झन्डै १ हजार ४ सय जना बालबालिका विभिन्न खालका क्यान्सर रोगबाट प्रभावित हुने आँकलन रहेको बताएकी हुन्।

उनले भनिन् ‘संसारमा एक वर्षमा झन्डै ४ लाख बालबालिका क्यान्सरका बिरामी हुने गरेका छन्, नेपालमा वर्षमा झन्डै १ हजार ४ सय बालबालिकाका विभिन्न खालका क्यान्सर हुने गरेको आँकलन छ,’ उनले भनिन्, ‘पछिल्ला ५ वर्षमा मात्रै हामीले १ सय ५० भन्दा बालबालिकाको क्यान्सरको उपचार गरेका छौँ।’ उनकाअनुसार नेपालमा बढी जसो बालबालिकाहरू रक्त क्यान्सर, ब्रेन ट्युमर, लिम्फोमा, हड्डीको सार्कोमाजस्ता क्यान्सरबाट पीडित रहने गरेको जानकारी दिइन्।

क्यान्सरको उपचारमा टिमवर्कको भूमिका महत्त्वपूर्ण हेने बताउँदै डा पण्डितले नेपाल क्यान्सर अस्पतालमा टिम वर्ककै कारण ९० प्रतिशत भन्दा बढी उपचारमा सफलता मिलेको बताइन्। त्यस्तै नेपाल क्यान्सर अस्पतालका सिनियर मेडिकल इपिडेमियोलोजिष्ट डा. मुरारीमान श्रेष्ठले नेपालको अधिकांश जनसंख्या गाउँमा बस्ने भएका कारण पनि धेरै बालबालिकामा क्यान्सरको उपचार पुग्न नसकेको बताए।

उनले भने, ‘काठमाडौं र केही मुख्य सहरबाहेक अन्यत्र क्यान्सरको उपचारमा पहुँच गाह्रो छ।’ उनले क्यान्सर भएका बालबालिकाको ठुलो जनसंख्यालाई उपचारको पहुँचमा ल्याउन आमा र स्वास्थ्यकर्मीलाई तालिम र जनतामा जनचेतना आवश्यक रहेको उल्लेख गरे। अस्पतालमा सिनियर कन्सल्टेन्ट रेडिएसन अंकोलोजिष्ट डा. गिसुपनिख प्रसिकोले आफूहरूले बालबालिकालाई अति आवश्यक परेको खण्डमामात्रै रेडिसन थेरापी दिने गरेको जानकारी दिए।

अस्पतालको पेडियाट्रिक हेमाटोलोजी अंकोलोजीका सिनियर कन्सल्टेन्ट डा। प्रकाशनिधि तिवारीले नेपालमा ७० प्रतिशत बालबालिकाको क्यान्सर पहिचान नै नहुने गरेको बताए। ‘नेपालमा २० प्रतिशत बालबालिकाको मात्रै क्यान्सर डाइग्नोस हुन्छ,’ उनले भने, ‘७० प्रतिशत बालबालिकाको क्यान्सर डाइग्नोस नहुँदा उच्च जोखिमको अवस्तामा मात्र अस्पताल पुग्ने बताए।

डा। तिवारीले बालबालिकामा हुने क्यान्सरको मुख्य कारण अहिलेसम्म पत्ता लाग्न नसकेको बताउँदै क्यान्सरको उपचार पहुँचमा पुगेका ८०—८५ प्रतिशत बालबालिका ठीक हुन्छन्। ‘बाँकी १० प्रतिशत बालबालिकालाई बोनम्यारो प्रत्यारोपण गरेर ठीक पार्न सकिन्छ,’ उनले भने, ‘त्यसमा हामीले पहल गरिरहेका छौँ। यो भयो भने क्यान्सर भएका ९५ प्रतिशत बालबालिकालाई उपचार गरेर निको पार्न सकिन्छ।’

अस्पतालमा कन्सल्टेन्ट अर्थो अंकोलोजिष्ट ऋषिराम पौडेलले पहिलेजस्तो अहिले हड्डीमा क्यान्सर भएका बालबालिकाहरुको हात वा खुट्टा नै काट्नुपर्ने अवस्था नरहेको बताए। ‘आजको दिनमा क्यान्सर लाग्दैमा हातखुट्टा काट्नु पर्दैन्, हामी हात खुट्टा नकाटेर सफल उपचार गर्छौ,’ उनले भने, ‘रगतका नसा बचाएर हामी अहिले त्यस्तो उपचार गरिरहेका छौँ।’ अस्पतालमा कार्यकारी अध्यक्ष तथा वरिष्ठ मेडिकल अंकालोजिष्ट डा। सुदिप श्रेष्ठले क्यान्सरका बिरामीलाई सरकारले प्रदान गर्ने सहायतामा वृद्धि गर्नुपर्ने धारणा राखे।

 

‘अहिले सबैं प्रकारका क्यान्सरका बिरामीलाई सरकारले १ लाख रुपैयाँ सहायता दिदैं आएको छ। सबैलाई एकै प्रकारको सहायताभन्दा पनि बच्चाहरूलाई ५ लाखसम्म सहायता दिनुपर्छ,’ उनी भन्छन्, ‘एक लाख रुपैयाँ उपचार सहायताले कतिले बिचैमा उपचार छाड्ने गरेका छन्। त्यसैले बच्चाको क्यान्सर निको हुने सम्भावना बढी भएकाले सहायता बढाउनुपर्‍यो। उ पनि भविष्यमा प्रधानमन्त्री, वैज्ञानिक भएर राष्ट्रलाई  योगदान गर्न सक्छ।’ उनले बालबालिकाको क्यान्सरको उपचारका ५—१० लाख खर्च हुने गरेकाले सरकारी सहायतामा वृद्धि हुन आवश्यक रहेको बताए।

उक्त अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्याथोलोजी विभागका प्रमुख, सिनियर अन्को-प्याथोलोजिष्ट डा. हरी ढकाल, प्रिभेन्सन अन्कोजिष्ट डा मुरारी मान श्रेष्ठ, सिनियर रेडियोलोजिष्ट डा सरोज चटौत तथा क्यान्सर सर्जन डा प्रफुल्ल शाक्यले समेत अस्पतालले टिमवर्कले उपचारमा ९० प्रतिशत भन्दा माथि सफलता मिलेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्