माओवादी केन्द्रको निर्णय : पार्टीको नाम र चुनाव चिह्न नफेरिने

140
Shares

काठमाडौं ।

सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र पार्टीको नाम र चुनाव चिह्न फेर्ने बहस चर्को रूपमा उठे पनि तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निर्णय गरेको छ।

पार्टीको विधान अधिवेशनमा उठेका एजेन्डालाई पार्टी नेतृत्वले फरक ढंगले व्याख्या गर्दै २० वटा समूहबाट प्राप्त सुझावको निष्कर्षसहित हाललाई पार्टीको नाम र चुनाव चिह्नको विषय छाडेको हो।

विधान महाधिवेशनको निष्कर्ष सुनाउँदै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने बताउनुभयो।

‘आवश्यकताअनुसार आगामी दिनमा पार्टीको नाम भने फेर्न सकिन्छ’ –दाहालले भन्नुभयो। त्यस्तै, सो दलको केन्द्रीय समिति १९९ सदस्यीय बनाउने निर्णय गरेको छ।

पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको नेताहरूले बताएका छन्। पार्टीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो।

त्यस्तै, ११ जनाको कार्यालय र स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय गरेको नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले बताउनुभयो।

उहाँका अनुसार पार्टीले आगामी चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ।

सचिव कार्कीले भन्नुभयो– ‘आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ। जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ। त्यहाँबाट संगठन निर्माण गर्ने पहल गर्ने भन्दै प्रचण्डले साथमा केन्द्रीय नेताहरू र सांस्कृतिक टिमसमेत रहने निर्णय भएको छ।’

पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले दुईवटा अभियान सञ्चालन गर्ने बताउनुभएको थियो।

विधान अधिवेशनको निष्कर्ष सुनाउँदै उहाँले हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने बताउनुभयो। उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुने अध्यक्ष दाहालको भनाइ छ।