डा. ओम मूर्तिको ‘धूम्रपान गर्ने स्वार्थी हुँदैनन्’ अभियानमा १६ सयको प्रतिबद्धता

602
Shares

काठमाडौं  ।

प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भमा मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले सञ्चालन गरेको धूम्रपान र सुर्ती सेवनलाई निरुत्साहित अभियान समापन भएको छ।

१ फ्रेबुअरी देखि १४ फ्रेबुअरी सम्म चलेको अभियान ‘धूम्रपान गर्ने मान्छे स्वार्थी हुँदैनन्’ भन्ने नारा तय गर्दै डा.ओम फाउन्डेसनले सञ्चालन गरेको थियो। ‘मेरो एउटा सानो त्याग मायालुका लागि ठूलो उपहार’ भन्ने नारा सहित डा.ओम मूर्तिसँग १६ सयभन्दा बढीले धूम्रपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

डा.ओम मुर्ति अनिलका अनुसार धूम्रपान तथा सुर्ती सेवनबाट मानव शरीरमा पार्ने असरका बारेमा नागरिकललाई गहिरोसँग प्रभावकारीरूपमा सूचना पुर्‍याउनका लागि विशेष अवसरमा रचात्मक क्रियाकलाप गरिएको हो। तर, धुम्रपान तथा सुर्ती सेवन त्यागेको प्रतिबद्धतापत्र चाहिँ १६ सयभन्दा बढी व्यक्तिबाट आएको डा. ओम मूर्ति अनिलले बताए।

उनका अनुसार प्रतिबद्धता व्यक्त गर्न चाहने व्यक्तिले फाउन्डेसनको वेभसाइटमा उपलब्ध भएको गुगल फर्ममा आफ्नो विस्तृत जानकारीसहितको विवरण भरेका थिए। सो विवरण फाउन्डेसनले आफ्नो डाटा बैंकमा सुरक्षित राखेको जनाइएको छ।

ध्रूमपान नगर्ने प्रतिबद्धता जनाएका १६ सय मध्ये करिब ७० प्रतिशत प्रतिबद्धता स्वदेशमै रहेका नेपाली र ३० प्रतिशत विदेशमा बस्नेहरुले जनाएको उनको भनाइ छ। यस्तै प्रतिबद्धता जनाउने उमेर समूहमा स्वदेशतर्फ न्यूनतम् १८ वर्ष र अधिकतम् ४७ वर्षका छन्। जसमध्ये औसत उमेर ३० वर्ष देखिएको छ । त्यस्तै विदेशमा न्यूनतम् २१ वर्ष र अधिकम् ४७ वर्ष छन्। जसमा औसत उमेर २८ वर्ष देखिएको छ।

धूम्रपान तथा सुर्ती सेवनविरुद्धको सचेतनामुलक यस अभियानमा जनचेतनाको नयाँ अभ्यास गरिएको थियो। अभियानका क्रममा धुम्रपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धता व्यक्त गर्ने मानिसको स्वास्थ्य जाँच पनि गरेको थियो।

प्रथम चरणमा करिब २०० जनाको निःशुल्क स्वास्थ्य जाँच तथा सचेतनामुलक कार्यक्रममा सहभागी गराइएको ओम मूर्ति अनिलले बताए। फाउन्डेसनले विद्यालयस्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ’स्कुल हेल्थ प्रोग्राम’ अगाडि पनि बढाएको थियो ।

सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ’विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको थियो। प्रतियोगितामा देशभरका करिब १९ हजार विद्यार्थीको सहभागिता रहेको छ।

हाजिरीजवाफ प्रतियोगिताको फाइनल राउण्ड र अन्तिम परिणाम तथा अन्य प्रतियोगितको अन्तिम परिणाम फागुन ५ गते शनिबार डा.ओम मूर्ति अनिलले आफ्नो फेसबुक पेजबाट विहान ११ बजे प्रत्यक्ष प्रसारण गर्ने जनाएका छन्।

धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असरसम्बन्धी सन्देश मूलक कवितामा प्रतियोगिता गराइएकोमा पाँच जना छात्रा छात्रलाई सर्वोउत्कृष्ट रचनाकारको रुपमा छनोट गरी १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

यस्तै धूम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, परिवार र साथीभाइको स्वास्थ्यमा समेत पर्ने असर झल्काउने चित्रकला प्रतियोगितामा एकजना छात्रा र एक जना छात्रलाई सर्वोत्कृट चित्रकार छनोट गरी १० हजार रुपैयाँ नगद पुरस्कार र तीन छात्रा र तीन जना छात्रलाई २ हजार ५ सय रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ।

यसैगरी, धूम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षासँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ। साथै सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ।