विलासी शासन र पिल्सिएका जनताको इतिहास



काठमाडौं ।

हामीमध्ये धेरैलाई लाग्नसक्छ हाम्रो देशमा आर्थिक मन्दीको अवस्था अहिलेमात्र आएको हो । तर, इतिहासका पाना पल्टाएर हेरेको खण्डमा तत्कालीन शासकका कुशासनको मारमा परेर राज्यकोषको ढुकुटी रित्तो हुने अनि अनेक तरहले जनता चुसेर हुन्छ कि कसरी हुन्छ राज्यकोषको ढुकुटी भराउन खोज्ने वा दुस्सहास गर्ने प्रवृति नेपालका राजा वा प्रधानमन्त्री शासक सबैले गर्दै आइरहेका छन् ।

गणतान्त्रिक सरकारको कुशासनले रित्तो भएको राज्यकोषको ढुकुटी भरपुर गर्नको लागि नेपाली जनतालाई सकेसम्म चुसेर तेल निकालिएको छ । सरकारी कर्मचारीलाई तलब खुवाउन नसकेर विदेशीसँग ऋण काढेर हरेक नेपालीको टाउकोमा त्यो ऋणको भार बोकाइएको छ । देश भ्रष्टाचार र कुशासनका कारण जर्जरावस्थामा पुगेको छ।

लाखौंको सङ्ख्याका नेपाली युवाहरू स्वदेशमा बाँच्नै नसक्ने अवस्था सिर्जना भएका कारण विदेशका विभिन्न मुलुकमा गएर तल्लो दर्जाको काम भए पनि गर्न बाध्य भएका छन् । देशको उन्नति यसरी गर्ने भन्ने कुनै ठोस योजना शासकसँग छैन मात्र होइन कि योजना बनाउने क्षमतासमेत रहेनछ भन्ने कुरा आम नेपाली जनताले बुझेर आउँदैछन्।

यति हुँदा पनि उच्च ओहोदाका कर्मचारी, राजनीतिको नेतृत्व गर्न खोज्ने नेता आदिले अनैतिक काम गर्न छोडेका छैनन् । राजनीतिक पहुँचका आडमा भ्रष्टाचारका डरलाग्दा काण्ड मच्चाउनेहरूलाई कुनै कारबाही गरिनुको साटो उनीहरूसँगै हातेमालो गरेर शासक वर्ग केवल आफ्नो शासन अलि लामो अवधि कसरी टिकाएर लैजाने ? भन्ने साँघुरो सोचाइको धुनमा अल्झेको छ।

शासक वर्ग देशको उन्नत अवस्था निर्माणको लागि कहिल्यै सचेत र संवेदनशील भएर तदनुसारका कर्म गर्न सकेको अनुभूत एकजना जनताले समेत गर्न पाएका छैनन् । बरू त्यसको साटोमा कसरी जनता लुटेर आफ्नो ऐयासी जीवन बँचाइलाई अझै ऐयासी बनाउने ? भन्ने धुनमा लागेको कुरा अनुभूत गर्न सकिन्छ । आम जनताले नगरीदिए हुन्थ्यो भनेर कामना गरेका र देशलाई दीर्घकालीन समयसम्म खासै लाभ नहुने विषयमासमेत सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति गम्भीर नभएरै केवल लहडीका भरमा नकाम गरिरहेको छ ।

कुनै पनि देशमा कुशासन कि सुशासन दिने र त्यस देशका जनतालाई दुःख वा सुख के दिने ? भनेर सोचेको खण्डमा इतिहासका विभिन्न कालखण्डमा मात्र होइन कि हामीले विगत ६२/६३ सालदेखि भोगेको पीडा आदिलाई सम्झँदा शासकका पक्षबाट आम र निरीह नेपाली जनता धेरैभन्दा धेरैपटक अपमानित र तिरस्कृत हुनुपरेको छ भन्ने लाग्दछ।

शासकीय सुख सयलका लागि विदेशबाट लिएको ऋण आम नेपाली नागरिकको टाउकोमा निकै ठूलो थुप्रो बनेर चुलिँदै गएको छ । त्यस्तै, विदेशबाट ऋण लिइरहेको र आम नेपाली जनताको टाउकोमा थोपर्दै गरेको खण्डमा समग्र देश नै विदेशीका हातमा जिम्मा लगाएर हामी बाँचेका नेपालीहरू पनि उनीहरूकै दास बन्न विवश हुनुपर्ने अवस्था चाँडै सिर्जना हुँदैछ ।

नेपाली इतिहासको एउटा कालखण्डमा पनि त्यसै गरी नेपाली जनताले आर्थिक मन्दीको मार खेप्नुपरेको मात्र नभई राजा शासकको भोगविलासी इच्छालाई पूरा गर्नका लागि धेरै पैसाको जरुरी परेको थियो । पैसा जम्मा गर्न सनातनदेखि नचलेको प्रथा अचानक लागू गरिएको वा चलाइएको थियो । त्यो प्रथा भनेको बाहुनलाई विर्ता वा बकसका रूपमा राज्यबाट दिइएको जमिन वा अन्य सम्म्पत्ति बलैसँग खोसेर लिने नियम बनाइएको थियो । नेपालको इतिहासमा यसै घटनालाई बासठ्ठीहरणका नामले पुकारिन्छ ।

सिङ्गो र विशाल नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको विसं १८३१ माघ महिनाको १ गते देवीघाटमा असामयिक निधन हुनपुगेपछि उनकै जेठा छोरा प्रतापसिंह शाहले नेपालको राजगद्दी सम्हाल्न पुगेका थिए। तर, राजगद्दी सम्हालेको केही समयपछि नै उनको पनि मृत्यु भएपछि उनकी पत्नी राजेन्द्रलक्ष्मी र भाइ बहादुर शाहले बेलाबेलामा झगडा गर्दै र मौका पर्दा एकले अर्कालाई नजरबन्द गर्दै आफू नाबालक रणबहादुर शाहको नायब भएर शासन चलाउँदै गर्दाको छोटो समयमै पनि ती दुवै देवर, भाउजूले पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई निरन्तरता दिने काम गरेका थिए।

उनीहरूले केही मसिना राज्यसमेत नेपाल अधिराज्यमा मिलाउन सफल भएका थिए । प्रतापसिंह शाहकी महारानी राजेन्द्रलक्ष्मीबाट समेत नेपाल एकीकरणको काममा एउटा मात्र नभएर धेरैओटा इँटा थपिन पुगेकाले उनलाई वीर महिला वा वीराङ्गना महिलाको उपाधिसमेत दिने गरिन्छ। तर, जब उनकै छोरा रणबहादुर शाह नाबालकबाट साबालक हुनपुगेर शासनको बागडोर आफ्नै हातमा लिनपुगे, त्यस दिनदेखि नेपालको दशा शुरू हुन पुगेको इतिहास छ ।

रानी राजेन्द्रलक्ष्मी र प्रतापसिंह शाहका जेठा छोरा रणबहादुर शाह बालक छउन्जेलसम्म काका बहादुर शाह र आमा राजेन्द्रलक्ष्मीले नायब बन्दै, शासन चलाउँदै अनि शत्रुलाई हराउँदै आएका थिए भने नेपालको सिमाना थोरै भए पनि बढाएर गौरव गर्न लायकको बनाउँदै थिए । जब रणबहादुर साबालक भएर आफैं शासन सत्ताको सर्वैसर्वा हुने बिचारमा लाग्नथाले त्यसपछिका दिनमा काका बहादुर शाहलाई आफ्नो बाटाको काँढो नबनून भनेर कैदमा राख्न लगाए, अनि आफंै राजगद्दीको मालिक बनेर रहन थाले। उता, जेलमा राखिएका बहादुर शाहको दुःखद् निधन हुनपुग्यो । बहादुर शाहको निधनले रणबहादुर शाहको स्वतन्त्रतालाई अझै मजबुत बनायो ।

नेपालको इतिहासमा राजा रणबहादुर शाहलाई सबैभन्दा स्त्रीलम्पट राजाको रूपमा लिइने गरिन्छ । कोही इतिहासकारले रणबहादुर शाहको लिङ्ग औसत पुरुषको लिङ्गको तुलनमा निकै लामो र ठूलो थियो, त्यसैले यिनी सम्भोगको समयमा आधा लिङ्गलाई पटुकाले बाँधेर आधा टुप्पो लिङ्गले मात्र सम्भोग गर्थे भनेर पनि लेखेको कुरा पढ्न पाइन्छ । यिनले चारजना रानी विवाह गरेर भोग गर्दा पनि यिनको यौन सन्तुष्टि पूरा हुनसकेको थिएन भन्ने कुरा थाहा हुन्छ ।

विसं १८५१ मा रणबहादुर शाह आफैं राजा बनेर राजकाज चलाउन थालेका थिए । अब उनलाई काका बहादुर शाहको नायवीको आवश्यकता रहेन, बरू काकालाई सधैंका लागि पन्छाउन खोजेका थिए भन्दा ठीक होला । रणबहादुर शाह साबालक भएर राजा भई राजगद्दीमा बसे पनि आम जनताका प्यारा र परिपक्व नेता भनेको बहादुर शाह हुनाले काकादेखि रणबहादुर शाह रिसले जल्थे र चाँडोभन्दा चाँडो हटाउन र स्वतन्त्र हुन चाहन्थे ।

राजाको त्यो इच्छा बुझेका बहादुर शाह पनि अलग भएर रहनलागेका थिए । अब रणबहादुर शाहलाई राज्यको ढुकुटीमा भएको सम्पत्तिको दुरुपयोग गर्न कसैले पनि रोक्नेवाला थिएन । यस मौकाको भरपुर आनन्द लिँदै रणबहादुर शाहले आफ्नो जीवन सुखसयलमा बिताउन थालेका थिए।

चौध वर्षको कलिलो उमेर राजराजेश्वरीसँग पहिलो विवाह गरेका रणबहादुर शाहलाई राजराजेश्वरीसँगको सहवासले मात्र नपुगेर दरबारमा सकेसम्म दैनिक नयाँ केटी भित्र्याउने, साँढे, कुखुरा, बट्टाई जुधाएर तमासा हेरेर आनन्द लिने गर्थे । राजा भएर पनि राज्यको बढोत्तरीमा भन्दा सुखसयलमा बढी ध्यान दिने रणबहादुर शाहकी कान्छी महरानी कान्तीवतीलाई क्षयरोगले समातेर अन्तिम अवस्थातिर पुर्‍याएको थियो।

त्यसै बेला उनले आफू मर्नुभन्दा अगाडि आफ्नो छोरो गीर्वाणयुद्धविक्रम शाहले राजगद्दी चढेको हेरेर मर्ने इच्छा व्यक्त गरेकी थिइन् । रानीको यसै इच्छाअनुसार राजा रणबहादुर शाहले छोरा गीर्वाणयुद्धलाई राजगद्दी सुम्पेर आफू जोगी बनेर गेरु वस्त्र धारण गरी काशीवास गएका थिए ।

राजा रणबहादुरको शरीरमा गेरुवस्त्र पहिरिए पनि उनको मानस भने भोगमुक्त अवस्थामा पुगेको थिएन मात्र होइन कि २४/२५ वर्षको लक्का जवान मान्छेलाई भोगको इच्छा घट्दै जानेवाला कदापि थिएन, बरू बढ्दै जानेवाला थियो । अन्तमा यस्तै भयो । आफ्ना दलबलसहित गेरुवस्त्र लगाएर, घाँटीमा रुद्राक्षको माला लगाएर, आफूलाई स्वामी महाराज घोषणा गरेर वनारस पुगेका रणबहादुर शाहलाई वनारस पुग्दा पनि भोगको इच्छाले सताइ नै रह्यो।

आफ्नो भोगको इच्छा समन गर्नको लागि त्यहाँ पनि धेरै पैसा खर्च गरेर सुन्दर कन्याका साथ उनी भोगविलासमा रातदिन डुब्न लागे । नेपाल दरबारबाट लिएर गएको सीमित पैसाले उनलाई पुग्न त परै जाओस् छाप पनि लागेन । यता, नेपाल दरबारबाट केही पैसा पठाइए तापनि त्यो केबल सितन मात्रै भयो । केही समय वनारस बसेपछि नेपाल फर्कने लालसा बोकेका रणबहादुर सकेसम्म छिट्टै नेपाल आउन र पुनः राजा हुन चाहन्थे । तर, वनारस बस्दा र भोगमा डुब्दा लागेको ऋण चुक्ता नगरेसम्म, उनी कतै चटपटाउन पाउनेवाला थिएनन् । नेपाल दरबारमा पैसा पठाउने बारेका चिठी धेरै ओटा आए पनि राज्यकोषमा रकम नहुनाले पठाउन सकिएको थिएन ।

राजा रणबहादुर शाहको इच्छा अब पुनः नेपालको राजा हुने भन्ने थियो । उनले कुनै जुक्तिका साथ आफूले वनारसमा मस्ती गर्दा लागेको ऋण पछि तिर्ने भाकामा र बाटोखर्चसमेत ऋण काढेर नेपाल दरबार आउनको लागि आफ्नो दलबलसहित नेपालतर्फ प्रस्थान गरे । नेपाल आएर अब राज्यकोषको खाली ढुकुटीलाई कसरी भर्ने ? भनेर उपाय निकाल्न थाले ।

अन्तमा उनका विश्वासपात्र भीमसेन थापाको सल्लाहमा एउटा योजना बन्यो । जुन योजनाअनुसार बाहुनहरूलाई सित्तैमा खान दिएको जग्गा(विर्ता), देवीदेवताका नाममा राखेका गुठी जग्गा, थोरै कर तिरेर खाएका किपट जग्गाजस्ता जग्गा हरण गर्न सकेका खण्डमा राज्यकोषको ढुकुटीमा चाँडै र चाहिँदो मात्रमा पैसा जम्मा हुन्छ भनेर भीमसेन थापाले रणबहादुर शाहलाई सल्लाह दिए ।

भीमसेन थापाको सल्लाहअनुसार विसं १८६१ देखि देशभरका सबै विर्ता, गुठी तथा किपट जग्गाको लगत निकाल्नको लागि डोर खटाइए। डोर खटिएको करिव १ वर्षपछि वा विसं १८६२ मा ती सबै खालका जमिन राज्यले गरेको भनेर घोषणा गर्ने काम भयो।

नेपालको इतिहासमा यसै कर्म वा काण्डलाई बासठ्ठीहरण भनेर चिनिन्छ । बाहुनहरूको जग्गा हडपेपछि कतैबाट सुनिएका विरोधका स्वरलाई पछि हातहतियार किनेर युद्ध गरी किल्ला, काँगडासम्म नेपालले जितेपछि नेपाल देश अझै विशाल बन्छ, देश विशाल बनेपछि राजस्व पनि धेरै बढेर जान्छ।

यसरी आम्दानी धेरै बढेपछि हरण गरिएका ती सबै प्रकारका जग्गा जसजसका हुन तिनैलाई फिर्ता गरिने छ भनेर बिरोधका स्वरलाई केही नरम बनाउने काम भए तापनि फिर्ता गर्ने काम भने भएको छैन।

एउटा लहडी भोग्यहा शासकको भोगको लागि त्यति धेरै जनताले बलिदानी दिनुपरेको दिन त्यो एउटा कालो दिन थियो होला सायद।

प्रतिक्रिया दिनुहोस्