सगरमाथा मोडल स्कुलद्वारा ७० जनालाई छात्रवृति प्रदान

182
Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १२ गाईघाट स्थित सगरमाथा मोडल स्कूलले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा सरस्वती पुजाका दिन ७० जना छात्रछात्राहरुलाई छात्रवृति प्रदान गरेको छ ।

बुधबार सरस्वती पुजाका दिन सो स्कूलले आफ्नो २५ औँ वार्षिकोत्सव मनाउने क्रममा ७० जनालाई रु. १४ लाख २५ हजार २सय ७५ रुपैया छात्रवृति प्रदान गरेको जानकारी दिएको छ । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको सो वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि बस्नेतले आज शिक्षा क्षेत्रमा गरेको लगानीले भोलिका दिनमा राम्रो प्रतिफल दिने भएकोले नगरपालिकाले शिक्षाको विविध क्षेत्रमा लगानी गरिरहेको बताउनु भयो ।

प्रमुख अतिथि बस्नेतले निजी क्षेत्रका विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको र निजी क्षेत्रकै सहयोगले नगरपालिका कामहत्वपूर्ण कामहरु संचालन भैरहेको हुँदा निजी क्षेत्रलाई साथमा लिएर काम गर्ने बताउनु भयो । विद्यालय संचालक समितिका अध्यक्ष रमेश कुमार आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा त्रियुगा नगरपालिका १२ नं वडाका कार्यबाहक वडाध्यक्ष अनिता थापा, साहित्यकार तथा प्रगतिशील लेखक संघ उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रौतामाई दैनिकका सम्पादक तुलसी कोइराला लगायतको उपस्थिति रहेको थियो ।

सगरमाथा मोडल स्कुलका प्रधानाध्यापक पुरुषोत्तम सापकोटाले दिएको जानकारी अनुसार विद्यालयले वर्ष विशेष शिक्षकमा तिला पौडेललाई ५ हजार १ सय ५१ रुपैयाँ नगद, कदरपत्र सहित सम्मान गरेको छ भने वर्ष विशेष अभिभावकका रुपमा गंगा बस्नेतलाई मायाको चिनो तथा सम्मानपत्रले सम्मान गरेको छ ।

यसै गरी २०७९ सालको एसइइ परीक्षामा उत्कृष्ट हुने विद्यार्थी छात्रा तर्फ मनिषा कार्कीलाई नगद रु. २ हजार १ सय र सम्मानपत्र, इन्द्र बहादुरथापालाई रु.२ हजार १ सय र सम्मानपत्र सहित छात्र तर्फको उत्कृष्ट पुरस्कार वितरण गरिएको छ । आधारभूत तहको कक्षा ८ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थी छात्रतर्फ प्रिजम राईलाई रु. १ हजार १ सय र प्रमाणपत्रका साथै छात्रा तर्फ मेनुका राउतलाई पनि रु. १ हजार १ सय नगद र प्रमाणपत्र वितरण गरिएको प्रधानाध्यापक सापकोटाले बताउनु भयो ।

सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सापकोटाले विद्यालयको भावी कार्ययोजना प्रस्तुत गर्दै आउँदो वर्षदेखि कक्षा १२ सम्मको पढाई संचालन गर्ने, भौतिक पूर्वाधार तथा अन्य सेवा सुविधाहरु बढाउने, निजीक्षेत्रको जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा विकसित गर्ने, गुण स्तरीय, व्यवसायिक, रोजगार मुलक शिक्षामा जोड दिने बताउनु भयो ।

उक्त विद्यालयको २५ औँ वार्षिकोत्सवका अवसरमा विद्यालयका छात्रछात्राहरुको सहभागितामा नृत्य, गायन, कला, हाजिरी जवाफ, चित्रकला, हस्तलेखन कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कार तथा प्माणपत्रद्धारा सममान गरिएको थियो । सो कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुले नृत्यका साथै गीत, कविता, मुक्तक, चुट्किला सहित आफ्नो कलाद्धारा अतिथिहरुलाई मन्तव्यद्धारा स्वागत गरेको थिए ।