पुस्तक समीक्षा

देश प्रेम, अध्यात्म, दर्शन, यथार्थको चित्रण ‘अक्षर कविता सङ्ग्रह’



काठमाडौं ।

नेपाली साहित्यमा उदीयमान प्रतिभाका रूपमा परिचित गद्यकवि लक्ष्मीप्रसाद ढकाल गद्यकविता विधाका एक सशक्त प्रतिभा हुनुहुन्छ । ढकाल एक ऊर्जावान्, सर्जक, भावुक र बेजोड कल्पनाशक्ति भएका कवि मानिएको छ।

झापा जिल्लाको कमल गाउँपालिका क्याम्पा बजार वडा नं २ मा जन्मिएका ढकाल निजी शैक्षिक संस्थामा विगत २८ वर्षदेखि अध्यापन गराउँदै आउनुभएको छ।

ढकालद्वारा लिखित ‘अक्षर नामक कवितासङ्ग्रह’ पहिलो र सफल कृति हो। ढकालका अक्षर नामक कविता सङ्ग्रहमा ६० ओटा कविता समावेश छन्।

विभिन्न राष्ट्रिय स्तरका पत्रिकामार्फत् सम्प्रेषित भएका कवितामा सामाजिक यथार्थ, प्रगतिशील चिन्तन, पूर्वीय आध्यात्मिक दर्शन, राष्ट्रियता, सामाजिक विकृति, राजनीतिक व्यंग्य, प्रकृति प्रेम र देश प्रेमको भावनाको प्रभाव रहेको पाइन्छ । कविता जीवनको शाश्वत अनुभूति हो । लयका माध्यमद्वारा गरिने समाजको बोध हो ।

यही कारण कवि रोबर्ट फ्रस्टले कवितालाई ताजा हेराइ र ताजा सुनाइ भनेका छन्। कवि ढकालका कवितामा पनि समसामयिक नेपाली समाजको विशद हेराइ र बुझाइ अभिव्यञ्जित छ। कवि जोन फोस्टरले भनेका थिए ‘कविताले कुनै पनि कुराको वर्णन गर्न सक्छ र यसले लेखनलाई जसरी पनि व्यक्त गर्न सक्छ।’

कवि ढकालका गद्य कवितामा पनि त्यही सत्य उद्घाटित भएको छ। समय सान्दर्भिक विषयवस्तुलाई जस्ताको तस्तै गद्य कवितामा ढाल्ने खुबी उहाँमा छ । कवि ढकालका गद्य कवितामा सही, सान्दर्भिक, समयसापेक्ष यथार्थ कुरा पाइन्छन्, जुन आम पाठकका लागि रुचिको विषय बनिरहेको छ।

विचार मानिसको प्राणशक्ति हो, जसले मानिसलाई बाँच्न र बचाउन प्रेरित गर्दछ भन्ने धारणा राख्ने कवि ढकाल जीवनलाई जनोपकारी त्यस्तो घाँसीकुवा बनाउने सपना राख्छन् । जसले भविष्यका धेरै नयाँ भानुभक्तहरूलाई प्रेरित गरोस् । उनका कविताहरूमा एकातिर असन्तुष्टि छ भने अर्कातिर आशा र उज्यालो पनि पाइन्छ । ६० ओटा कवितामध्ये केही कविता कालजयी छन् ।

‘अक्षर’ नामक कविता ‘अक्षर’ नामक कवितासंग्रहमा सग्रहित छ । जुन कवितामा पूर्वीय दर्शनको प्रभाव पाइन्छ। अक्षर ॐ कार हो, अक्षर अक्षर ब्रह्म हो तर पनि अक्षर कतै निमोठियो, अक्षर कतै चिमोटियो, अक्षर क्षर भएको कुरा उक्त कवितामा पाइन्छ। प्रस्तुत कवितामा दुनियाँमा न अक्षरले मान्छे चिनाउन सक्यो न मान्छेले अक्षर नै चिन्यो । त्यही अक्षरबाट मान्छेले नयाँ नयाँ विचार जन्मायो, नयाँ नयाँ दर्शन जन्मायो तर पनि मान्छेले मान्छेलाई चिन्न सकेन र मान्छेले मान्छेलाई चिनाउन सकेन।

अक्षरबाट मानिसको ज्ञान, बुद्धि र विवेक पलायो तर पनि मान्छेको ज्ञान, बुद्धि र विवेक अधुरो र अपुरो रहेको कुरा कवितामार्फत् कविले व्यक्त गरेका छन् । कवि ढकालले मान्छेले बल्लबल्ल अक्षर चिन्यो मान्छे चिन्न सकेन र मान्छे चिन्यो अक्षर चिन्न सकेन भन्दै विषयको सार द्विविधामा पूर्णविराम गरेका छन् ।

त्यसै गरी ‘गर्भकी छोरी’ कविता सामाजिक विषयवस्तुमा आधारित छ । जुन कवितामा करुण रस पाइन्छ । गर्भमै छोरीको भ्रुणहत्या गर्ने सामाजिक अपराधले भोलिका दिनमा समाजमा कस्तो असर पर्ला ? त्यो सोचनीय विषय हो । एकातिर छोरा र छोरीलाई दुई आँखाको नानी ठान्ने अर्कोतिर गर्भमै छोरीको भ्रुणहत्या गर्ने सामाजिक विकृतिको तितो सत्यलाई कवि ढकालले उद्घाटित गरेका छन् ।

छोरी भनेका घरका श्रीसम्पत्ति हुन्, सौभाग्य हुन्, भूत, वर्तमान र भविष्य हुन् । यति थाहा हुँदाहुँदै पनि नेपाली समाजमा छोरीलाई नजन्मदै गर्भमै भ्रुणहत्या गरेर नरकलोकमा पुर्‍याएको तितो सत्यलाई कवि ढकालले देखाएका छन् । रुढीवादी समाजको आँखामा छोरा छोरा नै हो छोरी छोरी नै हो भन्ने सार निकालेका छन् । जुन, समाजसापेक्ष छ । अशिक्षित समाजमा मात्र होइन शिक्षित समाजमा पनि यो विषय समस्याको रूपमा रहेको कविको ठम्याइ छ ।

‘ॐ नम शिवाय’ कविता आध्यात्मिक कविता हो । उनले शिव भगवानलाई देवादिदेवको रूपमा चित्रण गरेका छन् । कवितामा वास्तवमा शिव भगवान सानोमा परमाणु र ठूलोमा आकाश भएका, प्रेम र विश्वास भएका, विश्व र ब्रह्माण्ड भएका, कार्य र कारण भएका, त्याग र तपस्या भएका, शक्ति र तत्व भएका यस्ता महान् देवादिदेवको चित्रमा देखिएको तस्बिर भ्रम भएको कुरा व्यक्त गरिएको छ ।

कवि ढकाले आराध्यदेव शिव नै सत्य र तथ्य भएका, अक्षर ब्रह्म र ॐ कार भएका, द्वैत र अद्वैत भएका, अन्त र अनन्त भएका, आकार र निराकार भएका, आदि र अनादि भएका, मोक्ष र कैवल्य भएका, धर्म र कर्म भएका, एक भएर अनेक भएका र अनेक भएर एक भएका तर चित्रमा देखेको मानवरूपी तस्बिर भ्रम, भुलभुलैया र एउटा रणभुल्ल भएको कुरा स्वीकर गरेका छन् । यो विश्वब्रह्माण्ड निर्माणमा मानिसको भूमिका नभएको सारा विश्वब्रह्माण्ड रचयिता देवादिदेव महादेव रहेको कुरालाई कवि ढकालले अभिव्यक्त गरेका छन् ।

त्यस्तै, ‘आखिर म के बनूँ’ कवितामा चर्चित बनूँ कि प्रतिष्ठित बनूँ भन्ने इच्छा राखिएको छ। कवितामा नामी र ज्ञानी बन्ने रहर व्यक्त गर्नुभएको छ। कवि ढकाल कहिले श्रीखण्डको वृक्ष बन्ने, कहिले आँखाको नानी बनेर जनजनको मनमनमा बस्ने, कहिले वृक्षको मिष्ठान्न फल बन्ने, कहिले पूजाको पञ्चामृत बन्ने, कहिले मठमा रोपिएको तुलसी बन्ने, कहिले गण्डकी नदीको शालिग्राम बन्ने, कहिले समुद्रको मोती बन्ने, कहिले कोइलाखानीको हिरा बन्ने, कहिले सगरमाथाको उचाइ छुने, कहिले गंगाको पवित्र जल बन्ने इच्छा व्यक्त गर्छन् ।

कवि ढकालले मानिस जसरी हुन्छ चर्चितभन्दा पनि प्रतिष्ठित हुनुपर्छ भन्ने सार खिच्दै सबैलाई प्रतिष्ठित बन्न आग्रह गर्दछन् । मानिस असल र सफल हुनुपर्छ । असल मात्र भएर पुग्दैन सफल बन्न सक्नुपर्छ । कविले सफल मात्र भएर पुग्दैन असल पनि बन्नुपर्छ भन्दै मानिस चर्चित हुनुभन्दा प्रतिष्ठित हुनुपर्छ, नामी र ज्ञानी बन्नुपर्छ अनि मात्र जीवन सफल हुन्छ भन्ने सार कविताका माध्यमद्वारा व्यक्त गर्नुभएको छ ।

‘योगःश्चित्तवृति निरोधः’ नामक कविता अष्टांग योगदर्शनमा आधारित सुन्दर आध्यात्मिक कविता हो । योगदर्शनका प्रणेता महर्षि हुन् । योगःश्चित्तवृत्ति निरोधः योग दर्शनको मूलमन्त्र हो । कवि ढकालले यस कवितामा मन, बुद्धि र अहंकारको समष्टि योग चित्त हो र चित्त निरोध गरेर योगसाधनाका माध्यमद्वारा मानव जीवनको भविष्य सुन्दर रहेको कुरा व्यक्त गरेका छन् । कवितामा योग भनेको प्रकृति र पुरुषको योग, आत्मा र परमात्माको योग, जीवन र जगतको योग, व्यायाम र प्राणायामको योग, जीवात्मा र परमात्माको योग रहेक कुरा प्रस्ट पारिएको छ ।

अर्को ‘लिम्पियाधुरामा एउटा घडेरी’ कवि ढकालको बहुचर्चित कविता हो । देशभक्ति भावना र राष्ट्रियताले ओतप्रोत उक्त कवितामा राष्ट्रिय अस्मिताको संरक्षणका निमित्त कवि ढकालले आवाज उठाउनु भएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता नेपाली भूगोल हो । कवितामा कविले नेपाली पवित्र माटो हो, भन्दै जेठो छोरो, माहिलो छोरो र कान्छो छोरोलाई लिम्पियाधुरामा, लिपुलेकमा र कालापानीमा घडेरी किनेर देशको राष्ट्रिय अस्मिताको रक्षाका लागि छोराहरू तैनाथ रहेको कुरा व्यक्त गर्नुभएको छ ।

कविले जेठो छोरो, माहिलो छोरो र कान्छो छोरोलाई हिमाल, पहाड र तराईको भूगोलको प्रतीकका रूपमा चित्रण गर्नुभएको छ। कविले संसद्बाट नयाँ चुच्चे नक्सा कोरिए पनि तत्कालीन अवस्था र व्यवस्था जस्ताको तस्तै रहेको हुँदा कन्यादान दिएर सुस्ता पठाएकी छोरी पनि छिमेकी देशको हेपाहा र मिचाहा प्रवृत्ति सहन नसकेर रोइरहेको कुरा सुनाउँछन् ।

कविले अब देशलाई जोगाउन र बचाउनका लागि मेचीदेखि महाकालीसम्म बर्लिनको पर्खाल लगाउनुपर्ने, देशमा छिर्न भिसाप्रणाली लागु गर्नुपर्ने, हराएका जंगेखम्बा खोज्नुपर्ने र मेचीदेखि दोधाराचाँदनीसम्म लक्ष्मणरेखा कोर्नुपर्छ भन्दै प्रगतिशील विचार व्यक्त गर्नुभएको छ ।

अन्ततः कवि ढकालका अन्य थुप्रै कविताहरूमा सामाजिक यथार्थ, राष्ट्रियता, देशप्रेमको भावना, प्रगतिशील चिन्तन, पूर्वीय आध्यात्मिक दर्शनको प्रभाव रहेको पाइन्छ । राजनीति, सामाजिक विकृति, न्याय, नैतिकता, आशा, निराशा, व्यंग्य, विरोध, मानवीय चेतना, दर्शन, प्रकृति, संस्कृति, समाजमा व्याप्त भ्रष्टाचार, गरिबी, पीडा आदिजस्ता विशेषता भएको कवि ढकालको अमर कृति हो ।

प्रतिक्रिया दिनुहोस्