आम्दानी र खर्च नभएपछि साढे २ खर्ब बजेट घटाइयो

1.8k
Shares

काठमाडौं ।

लक्ष्यअनुसार राजस्व संकलन नभएको र खर्च पनि गर्न नसकेपछि सरकारले चालू आर्थिक वर्षको बजेट १२ दशमलव ६२ प्रतिशतले घटाएको छ।

सोमबार अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको अद्र्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको हो। चालू आर्थिक वर्षका निम्ति सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपियाँ विनियोजन गरेको थियो।

विनियोजित बजेट २ खर्ब २१ अर्ब रुपियाँ घटाएर १५ खर्ब ३० अर्ब २६ करोड रुपियाँ झारेको छ। चालू आर्थिक वर्षमा सरकारले चालूतर्फ ८८ दशमलव ८४ प्रतिशत, पुँजीगततर्फ ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७ दशमलव ३९ प्रतिशत हुने संशोधित अनुमान छ ।

चालूतर्फ १० खर्ब ७ अर्ब ४५ करोड ४६ लाख अर्थात् विनियोजनको ८८ दशमलव २४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब १३ करोड १९ लाख अर्थात् विनियोजनको ८४ दशमलव १३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब ६७ करोड ९७ लाख अर्थात् विनियोजनको ८७ दशमलव ३९ प्रतिशत खर्च हुने अनुमान छ ।

चालू वर्षको अन्त्यसम्ममा सरकारको स्रोतबाट राजस्व १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान छ।

यसअघि चालू आर्थिक वर्षका लागि राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रहने अनुमान गरिएको थियो । त्यस्तै, २ खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋण तथा २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने र ४९ अर्ब ९४ करोड वैदेशिक अनुदानबाट स्रोत व्यहोर्ने अनुमान गरिएको थियो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले लक्ष्यअनुसार आम्दानी हुन नसकेको र खर्चसमेत वृद्धि गर्न नसकेपछि बजेटको आकार घटाइएको जानकारी दिनुभयो।

उहाँले बजेटको समीक्षा गर्दै बजेटमा ६ दशमलव ५ प्रतिशतमा मूल्यवृद्धिलाई सीमित गर्ने लक्ष्य लिए पनि अहिले ६ दशमलव ४७ प्रतिशत रहेको जानकारी दिनुभयो।

उहाँले यस वर्ष १२ खर्ब २ अर्ब मात्रै राजस्व उठ्ने अनुमान गरिएको उल्लेख गर्दै १४ खर्ब २२ अर्बको राजस्व उठ्ने अनुमानको ८४ प्रतिशत मात्रै राजस्व उठ्ने देखिएको बताउनुभयो।