उपकुलपति भुसालको बदमासी: कुलपतिको पत्र उल्लंघन गर्दै धमाधम सरुवा

1.9k
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले एकपछि अर्को सरुवा गरेर सरुवा आतंक फैलाएको आरोप कर्मचारीको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र उल्लंघन गर्दै मनपरी सरुवा गर्नुभएको हो।

पछिल्लोपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपकुलपति भुसाललाई जिम्मेवारी उपकुलपति रिक्त भई पदपूर्तिको प्रक्रियामा रहेकाले त्रिवि ऐन २०४९ दफा २१ ख बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनासम्मका लागि नियुक्ति दिएको उल्लेख छ।

केही दिनमा २०औं उपकुलपति छनोटको क्रममा रहेको अवस्थामा दैनिक कामकाज चलाउने मात्र जिम्मा पाएका उपकुलपति भुसालले एक सहायक डीन, तीन विभागीय प्रमुख र ६ क्याम्पस प्रमुख सरुवा गर्नुभएको छ।

उपकुलपतिको सर्ट लिस्टको १३औं नम्बरमा रहनुभएका उपकुलपति भुसालले गर्नुएको नियुक्ति ऐनविपरीत छ। कुलपति छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बेला उहाँले कानुनविपरीत धमाधम सरुवा गर्नुभएको हो। सरुवा गरेका सबैलाई माघ २४ र २५ गतेदेखि काम गर्ने गरी सरुवा गर्नुभएको हो।

केही दिनअघि कर्मचारी सरुवा गर्ने जिम्मा आफ्नो नभएको बताउने गरेका भुसालले एकैपटक १० उच्च कर्मचारी सरुवा गर्दा प्राध्यापक र कर्मचारी मूकदर्शक भएका छन्।

दुवै संस्थाले विरोध गरेपछि उपकुलपति भुसालको निर्णयलाई कसैले प्रतिवाद गरेका छैनन्। निमित्त शिक्षाध्यक्ष भार्गव धिताल र निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालको साथ लिएर धमाधम कर्मचारी सरुवा गरेका छन्।

त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले दैनिक काम मात्र गर्ने जिम्मेवारी पाएका उपकुलपतिले मनपरी सरुवा गरेकोमा आपत्ति जनाउनुभयो।

उहाँले भन्नुभयो– ‘ऐनअनुसार उहाँले गरेको सरुवा कार्यान्वयन हुन मुस्किल पर्छ।’ यस विषयमा जानकारी लिन उपकुलपति भुसालको मोबाइल सम्पर्क गर्दा उठाउनुभएन । हाल त्रिविमा शिक्षाध्यक्ष र रेक्टर दुवै जना निमित्त छन्, तैपनि मनपरी सरुवा गरेर आतंक मच्चाएका छन्।

यसअघि तीनमहिने उपकुलपतिको पहिलो कार्यकालमा झण्डै दर्जन कर्मचारी सरुवा गर्दा नेपाल समाचारपत्रसँग प्रतिवाद गर्न खोजेका उपकुलपति भुसाललाई सम्पर्क गरी कुराकानी गर्न खोज्दा मोबाइल उठाउनुभएन।

यही २४ र २५ गते नियुक्ति हुनेहरूमा मानविकी तथा सामाजिक संकायका सहायक डीन चिरञ्जीवी आचार्य रहनुभएको छ। उहाँलाई माघ २५ गतेदेखि लागु हुने गरी नियुक्ति दिएको छ।

विभागीय प्रमुखहरूमा चेतराज भट्ट गणित, दिनेश पाठक, भूगर्भशास्त्र र कृष्णप्रसाद न्यौपाने नेपाली केन्द्रीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । तीनै जना विभागीय प्रमुखलाई माघ २४ गतेबाट लागु हुने गरी पत्र दिएको छ।

त्यसै गरी श्यामबहादुर कार्कीलाई नेपाल ल क्याम्पस, नवराज पाण्डेलाई गोरखा क्याम्पस, मिलन सुवेदीलाई, लमजुङ क्याम्पस, कपिल काफ्लेलाई रामपुर क्याम्पस खैरहनी, गंगाराम पौडेल, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम र रामेश्वर आचार्य पब्लिक युथ क्याम्पसको क्याम्पस प्रमुखका नियुक्ति गरिएको छ। सबैलाई माघ २४ गतेबाट लागु हुने गरी नियुक्ति गरिएको स्रोतको भनाइ छ।

गएको कात्तिक १७ गते कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले तीनमहिने कार्यकालका लागि नियुक्ति गर्नुभएको थियो। त्यसपछि माघ १६ गते नयाँ उपकुलपति नआएसम्मका लागि दोस्रोपटकका लागि नियुक्ति गरेको थियो।

यसअघि शिक्षक कार्यविधि संशोधन गर्न पदाधिकारीले त्रिवि कार्यकारी परिषद्को सचिव विष्णु अर्याललाई सरुवा गरी राजीनामा दिएर बसेका वैकुष्ठ थपलियालाई त्रिवि कार्यकारी परिषद्को सचिवालयमा सरुवा गरिए थियो।

शिक्षक नियुक्ति तथा बढुवासम्बन्धी कार्यविधि–२०८० संशोधन गर्न महत्वपूर्ण भूमिका खेलेका अर्यालको सरुवा गर्न लागेको बुझिएको छ।

अर्यालको नेतृत्वमा कार्यविधि तयार भएको थियो। यसअघि उपकुलपति भुसालकै निर्देशनमा पुस र माघ महिनामा अघिकांश तल्लो तहका कर्मचारीको सरुवा गरिएको छ।

पुस र माघ महिनामा दुई मुख्य सहायकसहित ७ जना कार्यालय सहयोगी, ४ जना कार्यालय सहायक सरुवा गरेका थिए। त्रिविले पुस २० गते एकै दिन ५ जना कर्मचारीको सरुवा गरेको थियो। उक्त दिन सरुवा हुनेहरूमा सावित्री थापा, अर्जुन बस्नेत, बिन्दु खत्री, सीताराम घिमिरे र कृष्ण कार्की रहेका छन्।

पुस र माघमा सरुवा हुने अन्य कर्मचारीहरूमा मुख्य लेखा सहायक धर्मराज शाही, कार्यालय सहयोगी मछिन्द्र खतिवडा र फुर्वा दोर्जे लामा रहेका छन्।

त्यस्तै लेखा सहायक बुधन मुखिया, कार्यालय सहायक शान्ता मुखिया, कार्यालय सहयोगीद्वय सहदेव खत्री र पुन्यराम ख्वालापाला र मुख्य लेखा सहायक पुण्यप्रसाद आचार्य रहनुभएको छ।

नियुक्तिहरू

सहायक डीन : चिरञ्जीवी आचार्य, मानविकी तथा सामाजिकशास्त्र संकाय

विभागीय प्रमुखहरू : चेतराज भट्ट गणित, दिनेश पाठक भूगर्भशास्त्र, कृष्णप्रसाद न्यौपाने नेपाली

क्याम्पस प्रमुखहरू : श्यामबहादुर कार्की, नेपाल ल क्याम्पस, नवराज पाण्डे, गोरखा क्याम्पस, गोरखा, मिलन सुवेदी, लमजुङ क्याम्पस, लमजुङ, कपिल काफ्ले, रामपुर क्याम्पस, खैरहनी, गंगाराम पौडेल, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम, रामेश्वर आचार्य, पब्लिक युथ क्याम्पस, काठमाडौं