जिम्मेवार व्यक्ति सतही अभिव्यक्ति

350
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा सल्लाह नै नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेर तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने सतही अभिव्यक्ति दिनुभएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले शनिबार सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिनुभएको हो।

काठमाडौंको टुँडिखेलमा आयोजित ल्होछार विशेष कार्याक्रममा गत वर्षको सोनाम ल्होछारमा पनि आफूले तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने भनेको स्मरणसमेत गराउँदै उहाँले भन्नुभयो– ‘यहाँहरूलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलको पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ।’

गत वर्षको सोनाम ल्होछारमा पनि आफूले तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने भनेको स्मरण गर्दै वागमती प्रदेशको मात्र मन्त्री बनाउन सकिएको बताउनुभयो।

उहाँले मन्त्रीमण्डल पुनर्गठन हुनेमा जोड दिँदै भन्नुभयो– ‘अब संघीय सरकारमै मन्त्री योजना छ। पहिलो प्राथमिकता वागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइने छ । म यो लाखौं जनताको अगाडि भन्दै छु।’

प्रधानमन्त्री दाहालले तामाङ समुदायको मन जित्नका लागि मात्रै यस्तो आश्वासन दिएको राजनीतिक वृत्तमा टिप्पणी भएको छ।

मन्त्रीमण्डल पुनर्गठनको चर्चा चले पनि सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले स्वीकार नगरी प्रधानमन्त्री दाहालले भनेजस्तो सजिलै मन्त्रिपरिषद् पुनर्गठन नहुने सत्ता गठबन्धनका नेताहरूले बताएका छन्।

प्रधानमन्त्रीको सतही अभिव्यक्तिप्रति टिप्पणी गर्दै राजनीतिकर्मीले जुन समुदाय, वर्ग र धर्मको कार्यक्रममा विचार राख्दा सोही समुदाय वर्ग र धर्मका पक्षमा उभिएर आश्वासन बाँड्ने गरेको बताएका छन्।

‘यो अभिव्यक्ति पनि तामाङ समुदायका नागरिकलाई दिएको आश्वासन मात्रै हो’, गठबन्धनका एक नेताले भने– ‘प्रधानमन्त्री जहाँ जसको कार्यक्रममा जानुहुन्छ त्यही वर्ग, समुदाय र धर्मका नाममा केही न केही पद दिएरै आउनुहुन्छ । तर, उहाँले अभिव्यक्ति दिएर फर्कनुहुन्छ जिम्मेवारी दिनुहुन्न । प्रचण्डले यस्तै हल्का अभिव्यक्तिमार्फत् कयौं जाति, धर्म र समुदायलाई आश्वासन दिने चलन पुरानै भएकाले यसलाई ठूलो विषय बनाइहाल्नुपर्ने अवस्था छैन ।’

सत्ता गठबन्धनभित्र सल्लाह नै नगरी आएको प्रधानमन्त्रीको हल्का अभिव्यक्तिले गठबन्धनभित्रसमेत शंका उत्पन्न भएको छ । यद्यपि, प्रधानमन्त्रीले केही समयअघि नै सरकारका मन्त्री हेरफेरको एजेन्डा लगे पनि सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इन्कार गर्दै आउनुभएको छ।

उहाँले नचाहँदासम्म मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चर्चामै सीमित हुने नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो।

गठबन्धको सरकार भएकाले उहाँले मात्रै भन्नेबित्तिकै मन्त्री फेरबदलको सम्भावना नरहेको भन्दै उहाँको अभिव्यक्तिलाई सत्ता घटक दलकै नेताहरूले हल्का रूपमा लिएका छन्।

प्रधानमन्त्रीको कुरालाई पत्याइहाल्नुपर्ने अवस्था नरहेको नेताहरूको टिप्पणी छ।